गान्तोक: टासी नाम्ग्याल एकेडेमी, गान्तोककी स्वनामधन्या भूतपूर्व शिक्षिका शान्ताप्रभा प्रधानले हिजो राति २३:१३ बजे नश्वर देह त्याग गर्नुभएको समाचार परिवारसूत्रबाट थाहा लागेको छ। उहाँ समाजमा एकजना विद्याप्रेमी सामाजिक परामर्शदातृ हुनुहुन्थ्यो। एम.ए. (अंग्रेजी: उत्तर बंगाल विश्वविद्यालय), बी.टी. (रामकृष्ण शिक्षण प्रशिक्षण महाविद्यालय, दार्जिलिङ), माउन्टेसरी ट्रेनिङ (काशी हिन्दू विश्वविद्यालय)-सम्म शिक्षित। शिक्षित र प्रशिक्षित भइसक्नुभएपछि कालेबुङ नगरका प्रणामी उच्च विद्यालय र मिसनरी कन्या विद्यालयमा अध्यापन गर्नुभयो। गायनमा रुचि राख्नुहुन्थ्यो। भोटाङको थिम्पू नगरमा जानुभएपछि राजा जिग्मे दोर्जी वाङचुकले थाल्नुभएको पब्लिक स्कूल (अहिलेको याङचेनफुग उ.मा. विद्यालय)-मा धेरै वर्ष शिक्षिका रहनुभएपछि अनि भारतमा सिक्किम विलय १९७५-पछि गान्तोक सरुवा हुनुभई टासी नाम्ग्याल एकेडेमीमा शिक्षिका बन्नुभयो। १९९५-मा शिक्षणबाट अवकाश लिनुभयो तर टीएनए प्रशासनले सेवा व्याप्ति अझ विस्तार गरिदिएको हुनाले १९९८-सम्म प्रबन्धन र प्रशासन कार्यमा अनुरक्त रहुनुभयो। भर्खरै गत १९ अक्टोबर २०२३-मा सोकेथाङको सर थुथोप नाम्ग्याल स्मारक चिकित्सालयमा उपचाराधीन शिक्षिका शान्ताको ८९औँ जन्मदिवस परिवारले मनाएको थियो। १९३४-मा जन्मनुभएको शिक्षिका शान्ता यस वर्ष ८९ पुग्नुभएको थियो।