खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीलाई आज तीनधारेमा सम्मान गरिएको छ। तीनधारेको गोलाईपाखास्थित मित्र संघको तर्फबाट आफ्नो पूर्व सचिव तथा वर्तमान तीनधारे महानदी समष्टिको नव निर्वाचित सभासद नवराज छेत्रीलाई सम्मान जनाएको छ। उक्त सम्बर्ध्दना कार्यक्रम मित्र संघ तीनधारेको सभापति ज्ञानबहादुर राईको अध्यक्षता र सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सभासद नवराज छेत्रीकी आमा धनमाया छेत्री, मार्थारानी राई, नारी शक्ति तीनधारे महानदी समष्टिको सचिव भगवती प्रधान, विद्यार्थी संगठन तीनधारे महानदी समष्टिको सचिव सुभम प्रधान, सीबी राई उपस्थित थिए। यसै कार्यक्रममा नव निर्वाचित सभासद नवराज छेत्रीलाई मित्र संघ तीनधारेको तर्फबाट खदार्पणसहित फूलगुच्छा प्रदान गर्दै सम्बर्ध्दना पत्र प्रदान गरी सम्बर्ध्दना जनाइएको छ। यस अवसरमा सभासद नवराज छेत्रीको जीवनी मसीह प्रकाश मोक्तानले पठन गरेका थिए भने सम्बर्ध्दना पत्र प्रेजिना मोक्तानले पठन गरेकी थिइन्। कार्यक्रममा स्वागत सम्भाषण मित्र संघको उप सभापति प्रतिमा लामा प्रधानले राखेका थिए भने स्वागत नृत्य दिव्यान्शीले प्रस्तुत गरिन्। कार्यक्रमलाई मित्र संघको सचिव ईशान्त विश्वकर्मले सञ्चालन गरेका थिए। यसै कार्यक्रममा मित्र संघ गोलाई पाखाको पक्षमा आफ्नो क्षेत्रको बाटो घाटो र शिक्षित युवावर्गको लागि रोजगारको अवसर सिर्जना गर्नु साथै सार्वजनिक भवनको जीर्णोध्दारको लागि पहल गरिदिने मांग गरिएको छ। उक्त मांग पत्रलाई बरुण रसाईलीले पठन गरेर संघको सभापतिको बाहुलीबाट सभासद नवराज छेत्रीलाई प्रदान गरिएको छ।

सम्बर्ध्दनापछि सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा आफूलाई यसरी आफ्नै जन्मथलो तीनधारेको गोलाई पाखास्थित मित्र संघको तर्फबाट सम्बर्ध्दना जनाइएकोमा आभार प्रकट गर्दै निक्कै भावुक बनेका थिए। उनले समष्टीमा जरुरी परेको स्थानमा प्राथमिकता अनुसार कार्य गर्ने बताउँदै सम्पूर्ण समष्टीवासीलाई एक सूत्रमा बाँधेर कार्य गर्ने बताएका छन्। कार्यक्रममा मार्थारानी राई र संघको सल्लाहकार मदनकुमार प्रधानले पनि वक्तव्य राखेका थिए।