जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा

काठमाडौं: जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ। दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ। एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए। मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाले खेल रोकियो।
खेल रोकिनुअघि आकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए। त्यसअघि दिपक बोहोराले ७९ र अर्जुन कुमालले १० रन बनाएका थिए। भारी वर्षापछि नेपालले थप ब्याटिङ गर्न पाएन र डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जापानले २५ ओभरमा १८७ रनको लक्ष्य पायो।
तर, नेपाली बलरले घातक बलिङ गरेपछि जापानले ४३ रन मात्र बनाउन सक्यो। ११.४ ओभरमा सुवास भण्डारीले यामामोतोको विकेट लिएपछि जापानका रतविक शिवकुमार ब्याटिङमा आएका थिए। एक बल सामना गरेका उनले ब्याटिङलाई निरन्तरता दिन सकेनन्।
नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन/तीन विकेट लिए भने सुवास भण्डारीले २ र आकाश चन्दले एक विकेट लिए। नेपाल र यूएई एसिया कपमा शनिबार नै भएको अर्को सेमिफाइनलमा यूएईले सिंगापुरलाई डिएल मेथडमा १० विकेटले हराएको छ ।पहिले ब्याटिङ गरेको सिंगापुरले ४९ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो। जवाफमा यूएईले ७ बलमा चार रन बनाउँदा पानीले खेल रोक्यो। पानी रोकिएपछि सुरु भएको खेलमा यूएईले ११३ रनको लक्ष्य पायो, जसलाई १५.५ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो।

फाइनलमा स्थान बनाएसँगै नेपाल र यूएईले यू-१९ एसिया कपमा स्थान बनाएको छ। दुवै टिम समूह एमा पर्नेछन्, जसमा भारत र पाकिस्तान छन्।

शनिबार भएको सेमिफाइनलमा पराजित भएका सिंगापुर र जापानले तेस्रो स्थानका लागि खेल्नेछन् र, विजेताले पनि एसिया कप खेल्ने छ। यो टिम समूह बीमा पर्नेछ, जहाँ अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement