सिलगढीः आफ्नो कर्तव्यको वेदीमा प्राण न्यौछावर गर्ने अमर शहीदहरूको सम्झानामा शनिवार पुलिस स्मृति दिवस मनाइयो। यस अवसरमा बीएसएफको उत्तर बंगाल फ्रण्टियरका महानिरीक्षक सूर्यकान्त शर्माले गत एक वर्षमा आफ्नो प्राणको आहुति दिने १८८ पुलिस र केन्द्रिय सशस्त्र बलका बहादुर कर्मीहरूलाई कदमतला परिसरमा स्थित शहीद स्मारकमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पित गरे। यस अवसरमा बीएसएफका सबै अधिकारीहरू र जवानहरू पनि उपस्थित थिए। कार्यक्रममा सबैले शहीदहरूलाई दुई मिनट मौन धारण गरेर श्रद्धाञ्जली दिए।
महानिरीक्षक सूर्यकान्त शर्माले जवानहरूलाई सम्बोधित गर्दै भने, हामीलाई हाम्रा बहादुर सीमा प्रहरीहरूमाथि गर्व छ जसले आफ्नो प्रियजनहरूलाई छाडेर हाम्रो देशको सीमाहरूको रक्षा गरिरहेका छन्। हाम्रा जवान मातृभूमिको सेवाको निम्ति कुनै पनि बलिदानको निम्ति तयार छन्। देशको निम्ति दिएको बलिदानलाई सदैव स्मरण गरिन्छ र सम्मान दिइन्छ।
उल्लेखनीय छ, राष्ट्रको सेवाको निम्ति आफ्नो प्राणको आहुति दिने पुलिस र केन्द्रिय सशस्त्र पुलिस कर्मीहरूको बलिदानलाई स्मरण गर्न हरेक साल २१ अक्टोबरमा पुलिस स्मृति दिवस मनाउने गरिन्छ।