नयाँ दिल्ली: अमेरिकाले भारत र चीनमाझ विगत तीन वर्षदेखिकै जारी सीमा गतिरोधलाई लिएर चिन्ता व्यक्त गर्दै अमेरिकी कांग्रेसमा आफ्नो वार्षिक रिपोर्ट पेश गरेको छ। पिपुल्स रिपब्लिक अफ् चाइना (पीआरसी)-सित सम्बन्धित सैन्य औ सुरक्षा विकासमाथि अमेरिकी रक्षा विभागको उक्त रिपोर्टलाई चीन सैन्य शक्ति रिपोर्ट (सीएमपीआर)-को रूपमा पनि चिनिन्छ। यो रिपोर्टले चीनको राष्ट्रिय, आर्थिक एवं सैन्य रणनीतिलाई दर्शाउँछ जसमा पिपुल्स लिबरेशन आर्मी (पीएलए)-को रणनीतिक वर्तमान क्षमता औ गतिविधिहरू लगायत सेनाको आधुनिकीकरणलाई पनि दर्शाइएको छ। पिपुल्स रिपब्लिक अफ् चाइनासित सम्बन्धित सैन्य तथा सुरक्षा विकासमाथि अमेरिकी रक्षा विभागले गत १९ अक्टोबरमा यो वार्षिक रिपोर्ट जारी गरेको थियो। रिपोर्टमा भनिएको छ, मई, २०२२देखि नै पीआरसी औ भारतीय सेनालाई एलएसी सहित अन्य स्थानहरूमा पनि ढुङ्गामुड़ा, लट्ठी, काँड़ातारले बेरिएको लट्ठी आदिको साथमा झड़पहरूको सामना गर्न परिरहेको छ। गतिरोधको कारणले विवादित सीमाका दुवैतिर सेनाहरूको भेला शुरू भएको छ। दुवै देशले एका-अर्काको सेनाको फिर्ती अनि पूर्वको स्थितिमा फर्किने माग गरे पनि न त चीन न त भारत उनीहरूको शर्तमा सहमत भए। पीआरसीले गतिरोधको लागि भारतीय बुनियादी ढाँचाको निर्माणलाई जिम्मेवार ठहरायो जसलाई उसले पीआरसी क्षेत्रमा अतिक्रमणको रूपमा मान्थ्यो। यसको विपरीत भारतले चीनमाथि भारतीय क्षेत्रमा आक्रामक अनुप्रवेश शुरू गरेको आरोप लगायो।रिपोर्टमा यो पनि उल्लेख गरिएको छ, १५/१६ जून, २०२०-मा गलवान घाटीमा गश्ती दलमाझ हिंसक झड़प भयो जसको परिणामस्वरूप लगभग २० भारतीय सैनिक र चार चीनीयाँ सैनिक मारिए। यो घटना १९६२ सालको युद्धपछि दुई देशबीच भएको सबैभन्दा घातक झड़प थियो। यो झड़पपछि पीएलएले एलएसीमा लगातार सेनाको उपस्थिति अनि बुनियादी ढाँचाको निर्माण जारी राखेको छ। चीनले वर्ष २०२२- मा एलएसीमा सैन्य बुनियादी ढाँचाको विकास गरेको छ। यी निर्माण कार्यहरूमा डोकलाम नजिक भूमिगत भण्डारण सुविधा, एलएसीका सबै तीन क्षेत्रमा नयाँ सड़क, छिमेकी देश भुटानका विवादित क्षेत्रहरूमा नयाँ गाउँ, पैंगोंग झीलमा अर्को पुल, केन्द्रिय क्षेत्र नजिक एउटा दोहोरो उद्देश्यको हवाईअड्डा र केही हेलिप्याड सामेल छन्। रिपोर्टमा अझ बताइए अनुसार भारत-चीनमाझ परामर्श तथा समन्वयको लागि कार्यतन्त्र (डब्ल्यूएमसीसी)-को २४औं बैठक ३१ मई, २०२२ -मा सम्पन्न भएको थियो, तर एलएसीको पश्चिमी क्षेत्रमा सैनिकहरूलाई हटाउने दिशामा कुनै महत्वपूर्ण प्रगति भएन। त्यसपछि १४ अक्टोबर, २०२२-मा चीन र भारतका प्रतिनिधिहरूले डब्ल्यूएमसीसीको आभासी २५औं बैठकमा सीमामा तनाउ कम गर्ने अनि आपतकालीन प्रतिक्रियाबाट सीमा क्षेत्रहरूको नियमित प्रबन्धनको दिशा तर्फ कदम बढ़ाउनको लागि उपाय गर्ने सहमति व्यक्त गरे। त्यसपछि ९ दिसम्बर, २०२२-मा भारतको तवाङ्गको याङ्ग्त्से क्षेत्र नजिक एलएसीको पूर्वी क्षेत्रमा सयकड़ौं चीनीयाँ औ भारतीय सैनिक भिड़िए।