गान्तोक: उत्तर सिक्किमको चुङथाङमा अवस्थित सिक्किम उर्जाको निर्णाम कार्य र वित्तिय अनियमितताबारे मुख्यमन्त्री पीएस तामाङले एसडीएफ र पवन चामलिङमाथि लगाएका सम्पूर्ण आरोपलाई एसडीएफ पार्टीले आधारहीन बताउँदै मुख्यमन्त्रीले लगाएका सबै आरोपहरूको खण्डन गरेको छ।
१६ अक्टोबरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले सिक्किम उर्जाको ड्याम लो क्वालिटीको थियो भनेर सिक्किमे जनता समक्ष एउटा नेरेटिभ मात्र बनाउने प्रयास गरेको तर उनले पत्रकार सम्मेलनमा प्रस्तुत गरेका सबै दस्तावेज सही नरहेर फेसबुकबाट संग्रहित दस्तावेज मात्र रहेको एसडीएफले दाबी गरेको छ। आज शुक्रवार गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसडीएफ पार्टीका मुख्य प्रवक्ता एमके सुब्बाले गम्भीर विषयलाई लिएर पत्रकार सम्मेलन गर्दा मुख्यमन्त्रीले तथ्य आधारित रिपोर्ट पेश गर्नुपर्ने बताए।
एथिना प्रोजेक्ट प्राइभेट लिमिटेडलाई सिक्किम उर्जाको निर्माण कार्यको जिम्मेवारी सरकारले नियम पालन गरेर नै दिएको थियो भन्ने दाबी गर्दै तर अन्य चारवटा कम्पनीले सरकारी सर्तलाई अस्वीकार गरेका कारण लेटर अफ् इन्टेन्ट एथिना प्रेजेक्टले पाएको सुब्बाले जानकारी दिए। एथिना प्रोजेक्ट प्राइभेट लिमिटेड एसडीएफ सरकारले गलत तरिकाले निर्माण जिम्मेवारी दिएको थियो भनी मुख्यमन्त्रीले लगाएका आरोप आधारहिन रहेको र यस्तै आरोपका साथ २००५ गरिएको रिट पिटिसनलाई सिक्किम उच्च न्यायालयले खारेज गरेको एसडीएफ प्रवक्ता एमके सुब्बाले बताए।
सिक्किम उर्जाको निर्माण लागत वृद्धि, यसको इक्विटी शेयर सिक्किम सरकारले बढाएर प्रोजेक्टलाई सिक्किम सरकार अधिनस्थ बनाउनु, सेयरको मूल्य उच्च राख्नु लगायतका सबै कार्य नियम आधारित रहेको बताउँदै सिक्किम उर्जाको निर्माण कार्यमा कुनैपनि गैर कानूनी काम नभएको उनले दाबी गरे। सरकारको लापरवाही र गैरजिम्मेवारीपनले गर्दा सिक्किम उर्जाको ड्याम भत्किएपछि मुख्यमन्त्री तामाङले एसडीएफमाथि निराधार आरोप लगाउने काम गरेको बताउँदै सरकार इमान्दार छ भने सिक्किम उर्जामाथि सीबीआई जाँच गराउनुपर्ने एसडीएफ प्रवक्ता एमके सुब्बाले माग गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै एसडीएफ प्रवक्ता एमके सुब्बाले सिक्किम उर्जा (पहिलेको टिस्टा उर्जा) को निर्माण कार्यको लागत वृद्धि २०११ को भुॅंइचालोपछि भएको बताए। उक्त समय यसको निर्माण कार्य लगभग ७० प्रतिशत पूरा भएको तर भुॅइचालोले धेरै क्षति पुऱ्याएपछि निर्माण कार्य ठप्प बनेकाले केन्द्र सरकारको निर्देशमा सिक्किम सरकारले कम्पनीमा इक्विटी बढाएर निर्माण गतिलाई अघि बढाएको उनले जानकारी दिए। सिक्किम उर्जा निर्माण कस्ट ओभररनको मुख्य कारण प्राकृतिक प्रकोप रहेक नै रहेको सुब्बाले ठहर गरे।
उनले भने, भुॅंइचालोले निर्माण ठप्प बनेको टिस्टा स्टेज तीनलाई रिकभर गर बनेर केन्द्र सरकारले सिक्किम सरकारलाई निर्देश दिएपछि सिक्किम सरकारले इक्विटी बढाउन शुरु गरेको थियो। प्रोजेक्टको निर्माणलाई सिक्किम सरकारले अघि बढाउनुपर्ने स्थिति आइपरेपछि अनि पावर फाइनेन्स कर्पोरेशनले पनि कम्पनीमा इक्विटी बढाएमात्र थप निर्माणका लागि ऋण दिन राजी भएकाले पनि सिक्किम सरकारले इक्विटी बढाएर ५१ प्रतिशत बनाएर सिक्किम उर्जालाई सरकार अधिनस्त उपक्रम बनाउनु परेको थियो।
सिक्किमको हितलाई ध्यानमा राखेर नै एसडीएफ सरकारले सिक्किम उर्जाको शेयर मूल्य पनि उच्च राखेको थियो भन्ने एसडीएफ प्रवक्ताले बताए। तथापि एसकेएम सरकारले उच्च मूल्यमा रहेको सिक्किम उर्जाको शेयर दरलाई घटाउने काम गरेको एमके सुब्बाले बताए। एसकेएम सरकार सत्तामा आएपछि सिक्किम उर्जाबारे धेरै बयानबाजी मात्र गरेको तर ड्याम सुरक्षामा गम्भीर नरहेका कारण ३ अक्टोबरको टिस्टा बाढले ड्याम तोडेको उनले बताए।
सरकार गम्भीर रहेको र ड्याम सेफ्टी एक्ट लागू गरेर यसको नियमित जाँच गरेको भए स्थिति अर्कै हुनेथियो भन्ने एसडीएफको तर्क छ। ल्होनाक लेक फुटेको स्थिति बारे मुख्यमन्त्रीले पाएका जनकारीको समयलाई लिएर उनले दिएको बयानले नै मुख्यमन्त्रीमाथि शंका गर्ने ठाउँ रहेको सुब्बाले बताए।