“कुमुदिनी होम्स बिध्याश्रमको स्विजरल्याण्ड टोली अनि टोली प्रमुख प्रियदर्शी लामा”

IMG-20220717-WA0130.jpg

एक परिचय

स्विजरल्याण्डको बेसल शहरमा प्रत्येक वर्षको ग्रीष्म ऋतुमा हुने यो बेसल ट्याटु स्थानीय “टप सेक्रेट ड्रम कर्प्स” (Top Secret Drum Corps) द्वारा २००६ देखि सुरु गरिएको हो। अहिले यो कार्यक्रम एडिन्सबर्ग मिलिटरी ट्याटु पछि कला, कलाकार अनि बजेटको सन्दर्भमा विश्वको दोस्रो ठुलो सैन्य ट्याटु भएको छ।

कुमुदिनी होम्स बिध्यश्रमलाई २०२० को कार्यक्रमको निम्ति २०१९ को अन्त तिर नै सहभागिताको निम्तो आएको हो तर कोभिडको कारणले २०२० अनि २०२१ को कार्यक्रम रद्द भयो। जब २०२२ मा फेरि कार्यक्रम हुने निश्चित भयो तब २०२२ को सुरुमा बेसल ट्याटुको अधिकारीक निमन्त्रणा आयो।
अब जिम्मेवारीको ठुलो भारी विद्यालय, कोच, ब्यान्ड टोली अनि ब्यान्ड सदस्यहरू माथि आयो।
कोभिडको कारणले दुई वर्षसम्म ग्रुप अभ्यास नभएको टोलीलाई आफै पनि भोक भोकै बसेर राती राती सम्म अभ्यासको निम्ति जोस उत्साह अनि शक्ति प्रदान गर्ने, भोक लागेको बेला पानी पिलाउँदै, कहिले माया गर्दै कहिले आक्रोश व्यक्त गर्दै प्रशिक्षण दिने होनहार प्रशिक्षक को हुन त??

श्रीमान प्रियदर्शी लामा: प्रियदर्शी लामा, दार्जीलिङ जिल्ला अधीनस्थ मङ्पू सिन्कोना बगानका एक होनहार अनि सम्पूर्ण पहाडवासीले गर्व गर्न लायकका छोरो हुन्। मङ्पूको शान्त सुन्दर प्राकृतिक छटाहरूमा जन्मिएर हुर्किएका उनी हाल कालेबुङ जिल्लालाई कर्मथलो बनाएर सम्पूर्ण पहाडवासीलाई नै गौरवान्वित बनाइरहेका परिचित नाउँ हुन्।

पिता श्री निमा लामा जो पेसाले एक स्वास्थ्य निरीक्षक (Health inspector)) को रूपमा कार्य गरी हाल अवकाश प्राप्त गरिसक्नु भएको छ भने माता श्रीमती निर्मला तामङ सिन्कोना बगानमा एक कर्मचारी हुन्।

उनको जन्म १४ अगस्ट १९९० को दिन मङ्पू सिन्कोना बगान अधीनस्थ रेसेप बजार, जिल्ला दार्जिलिङ, पश्चिम बङ्गाल, भारतमा भएको हो। उनी कालेबुङ इस्ट मेन रोड निवासी श्री तीर्थ कुमार छेत्री अनि श्रीमती भिमा छेत्रीको सुपुत्री प्रीति छेत्रीसँग विवाह बन्धनमा बाँधिएर हाल कालेबुङलाई नै कर्म क्षेत्र बनाएर कालेबुङमा नै बस्ने गर्छन्।

हाल उनको परिवारमा बाबा, आमा लगायत फुपू रूपमणि पाख्रिन, दिदी सुश्री प्रियङ्का लामा अनि भाइ प्रशान्त लामा छन्।
उनको बाल्यकाल मङ्पू कै मनोरम वातावरणमा बितेको हो। उनको प्राथमिक शिक्षा मङ्पू कै गुड स्टार एकाडेमी (Good Star Academy) बाट सुरु भएको हो। गुड स्टार एकाडेमीमा चौथो श्रेणीसम्म शिक्षा आर्जन गरिसकेर उच्च शिक्षाको निम्ति कालेबुङको कमल ज्योति विद्यापीठमा पाचौ श्रेणीमा भर्ना गरियो। शिक्षा सँग-सँगै सङ्गीतमा पनि रुचि भएको हुनाले विद्यालय कै ब्यान्ड टोलीमा समावेश भएर धेरै वर्षसम्म कमल ज्योति स्कुल ब्यान्डमा विद्यार्थी भएर ब्यान्ड बजाए। उनले बाह्रौँसम्मको शिक्षार्जन समाप्ति पछि स्नातक (B. Com) स्तरको शिक्षा वाणिज्यमा कालेबुङ महाविद्यालयबाट पूर्ण गरे अनि स्नातकोत्तर (M. Com) इन्दिरा गान्धी नेशनल युनिभर्सिटीबाट पूर्ण गरे। यतिन्जेल उनी कालेबुङमा मात्र नभएर देशकै विभिन्न ठाउँहरूमा एक ब्यान्ड प्रशिक्षकको रूपमा प्रतिष्ठित भइसकेका थिए।

उनी कुमुदिनी होम्स विद्याश्रम, कालेबुङमा २१/०९/२०१० देखि एक सह शिक्षक अनि ब्यान्ड प्रशिक्षकको रूपमा कार्य गर्दै विद्यालयको ब्यान्ड टोलीलाई देश विदेशको थुप्रै ठाउँहरू तिर सहभागी गराई विद्यालय अनि क्षेत्रको नाम रोशन गरिरहेका छन्।

उनले “Highland Pipes and Drums India, Inc Foundation” नामक संस्था खोलेर कालेबुङमा मात्र नभएर पहाड तराई अनि छिमेकी देश भुटान, नेपाल अनि छिमेकी राज्य सिक्किमको विभिन्न विद्यालयहरूमा ब्यान्ड प्रशिक्षण दिइरहेका छन्। साथै “Scottish Society of Kalimpong Pipe Band” नामक क्लब खोलेर विभिन्न कार्यक्रमहरू पनि गरिरहेका छन्।

यत्तिका वर्षहरूको सङ्घर्ष पछि पनि प्रियदर्शी लामाको सङ्घर्ष जारी छ। थुप्रै कलाकारहरू जन्मिए मरे, जन्मिरहेका छन् मरिरहेका छन्, अझ कत्ती जन्मिने हुन् कति मर्ने हुन्। यस्तो प्रतिभावान छोरालाई स्विजरल्याण्डले चिनेर कदर अनि सम्मान गर्दै एउटा पूर्ण सैन्य कार्यक्रममा पहिलो असैन्य संस्था, अनि टोलीलाई कार्यक्रममा सहभागिता दिएर विश्वमा नै इतिहास रची सके। अब हामीले कहिले चिन्ने त यी हाम्रा रत्नलाई।

माल पाएर पनि चाल नपाए नोक्सान अरूको हुँदैन हाम्रै हुन्छ।
सम्पुर्ण गोर्खे जमातको पक्षबाट प्रियदर्शी लामा भाइको सुस्वास्थ्य अनि सुखद भविष्यको कामना गर्दछु।

हेमन्त थापा
मङ्पू (हाल कालिम्पोङ्ग)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement