चीनकी शट्लरलाई पराजित गरी सिंगापुर ओपनमा सिन्धु च्याम्पियन

IMG-20220717-WA0111.jpg

१७ जुलाईः दुईपल्टकी ओलम्पिक पदक विजेता भारतकी पीभी सिन्धुले आइतवार महिला एकलको फाइनलमा चीनकी वेंग झी यी-लाई तीन गेमको रोमाञ्चक लड़ाइँमा पराजित गरी सिंगापुर ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको खिताब जितिन्। २७ वर्षीय सिन्धुले महत्त्वपूर्ण क्षणहरूमा धैर्य कायम राख्दै एशियाई च्याम्पियनशीपकी वर्तमान च्याम्पियन चीनकी २२ वर्षीय खेलाड़ीलाई २१-९, ११-२१, २१-१५-ले पराजित गरिन्। यस खिताबी जीतले आउँदो २८ जुलाईदेखि बर्मिंघममा शुरु हुने राष्ट्रमण्डल खेलहरू अघि सिन्धुको आत्मविश्वास अवश्यै बढ़्नेछ। वर्तमान सत्रमा यो सिन्धुको तेस्रो खिताब हो। यसअघि उनले सैयद मोदी अन्तर्राष्ट्रिय र स्विस ओपनको रूपमा दुईवटा सुपर ३०० टुर्नामेण्ट जितेकी थिइन्। उनी गत महिना भएको मलेशिया ओपन र मलेशिया मास्टर्समा चाहिँ क्वार्टर फाइनल राउण्डमा बाहिर भएकी थिइन्।
सिन्धुले आफ्नो करियरमा ओलम्पिकमा रजत र काँस्य पदक बाहेक विश्व च्याम्पियनशीपमा एउटा स्वर्ण, दुईवटा रजत र दुईवटा काँस्य पदक पनि जितेकी छन्। यसअघि सिन्धुले सेमिफाइनलमा जापानकी साएना कावाकामीलाई पराजित गरी फाइनलमा स्थान बनाएकी थिइन्। सिन्धु सिंगापुर ओपनको खिताब जित्ने तेस्रो भारतीय खेलाड़ी हुन्। यसअघि साइना नेहवालले २०१० र बी साई प्रणीतले २०१७-मा सिंगापुर ओपनको खिताब जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement