अनित थापाद्वारा मालिकलाई ल्याएर आई १९ प्रतिशतले बोनस दिने भएपछि स्थिति साम्य
खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टीको नरबुङ चियाबारीमा बोनसलाई लिएर दिनभरि तनावको स्थिति रहेको थियो। श्रमिकहरू र स्टाफहरूले बगानको प्रबन्धकलाई कार्यालयमा नै राखेर घेराऊ गरेपछि अन्त्यमा जीटीए चिफ् अनित थापाद्वारा बगानको मालिकसित बातचीत गरेर नरबुङ चियाबारीमा १९ प्रतिशतले नै बोनस वितरण गरिने भएको नरबुङबाट भागोप्रमोको ट्रेड युनियनको केन्द्रीय सह सचिव राजेस थापाले जानकारी गराएका छन्। उनले बताए अनुसार जीटीए चिफ् अनित थापाले बगानको मालिकसित फोनमा बातचीत गरेपछि १२ प्रतिशत हरेको ब्यांक एकाउन्टमा हालिने र रहल भोलि शुक्रबार बगानमा नै श्रमिकहरूलाई वितरण गरिने भएको छ। यसको साथै भोलि शुक्रबार जीटीए चिफ् अनित थापा बगानको मालिकलाई लिएर नरबुङ चियाबारी आउने भएको बताइएको छ। उक्त आश्वासन पाएपछि बगानको श्रमिकहरूले केही राहत महसुस गरेको पनि जनाइएको छ। यस अघि आज दिनभरि नै बोनसलाई लिएर नरबुङ चियाबारीमा तनावको माहोल देखा परेको थियो। बगानको सबै स्टाफहरू र श्रमिकहरू कार्यालय अघि प्रदर्शन गरिरहे भने बगान प्रबन्धकसित कार्यालयमा नै बोनस विषयमा सोधपुछ गरिएको थियो। आजको प्रदर्शन र प्रबन्धकसितको बातचीतमा जनप्रतिनिधिहरू पनि उपस्थित रहेका थिए। यस कार्यमा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान, उप प्रधान अम्बिका देवान, पञ्चायत समिति सदस्य अनिरा तामाङ, पञ्चायत सदस्य बिक्की पाख्रिन, घैयाबारी ग्राम पञ्चायत तीनको प्रधान भगवती राई प्रधान, उप प्रधान रञ्जित थापा, समिति सदस्य साजन दर्जी लगायत पार्टी प्रतिनिधिहरू र ट्रेड युनियनका प्रतिनिधिहरू पनि उपस्थित रहेका थिए।

घटनाक्रम अनुसार बुधबार बिहान बगान नोक्सानीमा चल्दैछ भनेर मालिक पक्षले नरबुङ चियाबारीमा केवल ९ प्रतिशत मात्र बोनस दिने नोटिस टालेपछि श्रमिकहरू र स्टाफहरूले विरोध जनाएका थिए। यस क्रममा मालिकले बिहीबार बगानमा आउने वचन दिए पनि नआएपछि दिनभरि तनाउको माहोल सिर्जना भएको थियो भने बगानको स्टाफहरू र श्रमिकहरूले १९ प्रतिशत नै बोनस दिनु पर्ने मांग गर्दै धरणा प्रदर्शन गरेका थिए। नरबुङ चियाबारीमा स्टाफहरू र श्रमिकहरूले गरेको धरणा प्रदर्शनमा निर्वाचित जनप्रनिधिहरूले पनि भाग लिएका थिए। अन्त्यमा जीटीए चिफ् अनित थापाले बिहीबार मालिकलाई लिएर आउने अनि १९ प्रतिशत नै बोनस दिने भएपछि स्थिति साम्य बनेको थियो।