गान्तोक: राज्यका मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको मार्गनिर्देशमा आज बाढी प्रभावित क्षेत्र सिङतामस्थित आदर्श गाउँमा सर सफाई कार्यक्रम आयोजना गरियो। मुख्यमन्त्रीका राजनीतिक सचिव खालिङको मार्गनिर्देशमा सिङताम, आईबीएममा सर सफाई आयोजना गरिएको थियो भने आज भने सिङतामस्थित आदर्श गाउँमा पनि सर सफाई गरिएको बताइएको छ।
यस अवसरमा च्याखुङ, चुम्बुङका पञ्चायत सदस्य लगायत त्यहाँका युवाहरूले पनि सक्रियरूपमा सहभगिता जनाएका थिए। गत ४ अक्टोबरको दिन टिस्टा नदीमा आएको बाढीले सिक्किममा व्यापक क्षति पुऱ्याएको छ। उत्तर सिक्किमको लाचेन, लाचुङ र चुङथाङका धेरै गाउँहरूलाई बाढीले प्रभावित बनाएको छ। यसरी नै पूर्व जिल्लाका रम्फू, सिङताममा पनि यसले व्यापकरूपमा प्रभाव परेको छ।

हाल विभिन्न संघ संस्था, व्यक्ति विशेषहरूले प्रभावित गाउँहरूमा पुगेर सहयोगको हात अघि बढाइरहेका छन्। यसै क्रममा मुख्यमन्त्रीका राजनीतिक खालिङको नेतृत्वमा हाल बाढी प्रभावित क्षेत्रहरूमा सरसफाईको काम युद्धस्तरमा काम भइरहेको छ।