गान्तोक: देशका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देश अनुसार भारतभरि नै `मेरी माटी मेरा देश´ कार्यक्रम आयोजना गरिएको छ। यसै अन्तर्गत सिक्किमले पनि यस अभियानमा उत्साहित बनेर सहभागीता जनाइरहेका छ। उल्लेखनीय छ, गत १३ अगस्त २०२३ को दिन सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले यस अभियानको उद्घाटन गरेका थिए। देशका वीरहरुलाई श्रद्धाञ्जली अर्पण गर्नका साथै देशभक्ति र राष्ट्रप्रति समर्पणको भावना दर्शाउन हेतु यस अभियानको थालनी सिक्किममा गरिएको हो। यसै कार्यक्रम अन्तर्गत भारतभरिका विभिन्न क्षेत्रहरुबाट माटो संकलन गरेर अमृत कलश यात्रा कार्यक्रमको आयोजना गरिनेछ। भारतका विभिन्न क्षेत्रबाट संकलन गरिएका यी माटोहरु दिल्लीमा संकलन गरेर अमृत वाटिकाको सृजना गरिनेछ, जुन वाटिका एक भारत श्रेष्ठ भारतको नमुनाको रुपमा निर्माण गरिनेछ। यस कार्यक्रममा सिक्किमले पनि उत्साहपूर्वक भाग लिएको छ। यसै अन्तर्गत आज राजधानीस्थित सम्मान भवन परिसरमा सिक्किमभरिका विभिन्न क्षेत्रहरुबाट राष्ट्रिय सेवा योजना (एनएसएस) का ३४ विद्यार्थीहरुलाई मुख्य मन्त्रीले झण्डा हल्लाएर दिल्लीकोलागि प्रस्थान गराए। यी विद्यार्थीहरुले राज्यभरिका विभिन्न क्षेत्रहरुबाट माटो संकलन गरेर कलशमा भरेर दिल्ली पुऱ्याउने भएका छन्। मेरी माटी मेरा देश अन्तर्गत रहेको यस कार्यक्रमबारे पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा मुख्यमन्त्रीले यस कार्यक्रममा सहभागी हुन गइरहेका विद्यार्थीहरुलाई शुभकामना दिए। यस कार्यक्रमले देशलाई अघि बढाउन अनि सशक्त बनाउनमा सहयोग पुर्याउनेछ भन्ने विचार उनले प्रकट गरे। देशवासीले आफ्नो हक र अधिकारको कुरा मात्र गरिरहेका हुन्छन् तर देशप्रति आफूले गर्नुपर्ने कर्तव्यबारे पनि सोच्नुपर्ने विषय रहेको उनले बताए।
दिल्लीमा सम्पन्न हुन लागिरहेको यस कलश यात्रा कार्यक्रममा सिक्किमबाट एनएसएसका ३४ जना विद्यार्थीहरुले भाग लिइरहेको कुरा आरडीडी विभागका आयुक्त डी. आनन्दनले बताए।