खरसाङ: खरसाङ कलेजमा गौरबङ्ग विश्वविद्यालयका सहप्राध्यापक डा मनोज लामाको प्रमुख आतिथ्यमा सोही कलेजका चारजना सहप्राध्यापाक डा योगेश खातीकृत ‘अध्ययन आवर्तन’, सहप्राध्यापाक डा सिर्जना राईकृत ‘वि’मिन्स वर्क् अयाण्ड् देय्र रोल् इन् माउन्टेन् फाअर्मिङ सि’स्टिम्स’, सहप्राध्यापाक डा निली लेप्चाद्वारा सम्पादित ‘कन्टेम्’पोररि इ’स्यूस इन् रू’लर् अयाण्ड् अअर्’बन् डेभे’लप्मेन्ट: दार्जिलिङ अयाण्ड् सिक्किम हिमालयस्’, उपप्राध्यापाक डा. शङ्कर प्रसाद शाहकृत ‘रि’सेण्ट ट्रेन्ड्स इन् माइ’क्रोबायँ’लजि’ आदि पुस्तकहरूको विधिवत् लोकार्पण अनि समीक्षा कार्यक्रम सम्पन्न भएको छ। प्राध्यापिका सुदर्शना प्रधानको औपचारिक उद्धाटन मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा खरसाङ कलेज शोध उपसमितिका संयोजक डा निली लेप्चाले स्वागत वक्तव्यमा शैक्षिक सत्र २०२२-२०२३ मा अर्थशास्त्र, भूगोल, सूक्ष्मजीवविज्ञान र नेपाली साहित्यका विभिन्न विषयमूलक शोधात्मक ग्रन्थहरूको प्रकाशन हुनु कलेजका लागि गर्वको विषय रहेको बताइन्। चारजना लेखकहरूले आ-आफ्नो पुस्तकसम्बन्धी विचार राखे भने क्रमैले डा योगेश खातीले आफ्नो पुस्तकका रचना विषयमा बोल्दै यसअन्तर्गत जम्मा सत्रवटा रचनाहरू समाविष्ट छन् जसमा दलित अध्ययन, राजनीति र पहाडसँग अनुबन्धित विभिन्न सामयिक विषय आधारित शोधमूलक विश्लेषण रहेको उल्लेख गरे। डा. खातीको पुस्तकको समीक्षात्मक टिप्पणी सहप्राध्यापक डा. उपेन्द्र अधिकारीले राखे। डा अधिकारीले आफ्नो समीक्षात्मक निरूपणमा यो पुस्तक धेरै उपयोगी साथै सामयिक विषयलाई चयन गरी तत्विषयक उत्कृष्ट काम भएको दावी गरे भने अझै उनले डा खातीको समाज राजनैतिक परिप्रेक्ष्यको प्रेरणास्रोत नेपाली साहित्यका शिखर पुरुष इन्द्रबहादुर राईद्वारा निर्देशित नवीन आयाम नै रहेको किटान गरे। डा सिर्जना राईकृत सो ग्रन्थ उनको विद्यावारिधि उपाधिप्राप्त कृति रहेको हो। आफ्नो शोध ग्रन्थबारे बोल्दै डा. राईले पहाडी ग्रामीण अर्थतन्त्रको क्षेत्रमा नारीहरूले योगदान पुर्याउँदै आएको भए पनि यसको लेखाजोखा समीति भएको हुँदा यस शोधकार्यले त्यसतर्फ मूल्याङ्कन गर्न योगदान पुर्याउने बताइन्। अर्थतन्त्रमा नारीहरूको महत्त्वपूर्ण योगदान भए पनि दुर्भाग्यवश यसको सठीक मूल्याङ्कन हुन नसकेको हुँदा यस शोधले अर्थतन्त्रको विकासमा नारीको ठूलो योगदान रहेको खोजी गर्नु नै प्रस्तुत शोधकार्यको अन्तिम निष्कर्ष रहेको डा राईले मन्तव्य दिइन्। उपप्राध्यापक दावा शेर्पाले डा राईको उक्त शोधग्रन्थमा समीक्षात्मक निरूपण प्रस्तुत गरे भने उनले प्रचलित साहित्यिक परिप्रेक्ष्यमा भएका दुर्लभ अध्ययनका बारेमा पनि थप प्रकाश पारे। डा निली लेप्चाले आफूले सम्पादन गरेको सो पुस्तकबारे प्रकाश पार्दै यसमा विभिन्न विषयहरूका विज्ञहरूद्वारा लिखित जम्मा १४ वटा लेखहरू रहेका छन्। यसमा समाविष्ट लेखहरू बहु-दृष्टिमूलक एवम् अन्तरअनुशासनात्मक अनुसन्धानको विविध दृष्टिकोणमा आधारित साथै दार्जिलिङ र सिक्किम हिमाली राज्यका ग्रामीण र शहरी विकासका विभिन्न समस्या र त्यसका समाधानलाई इमान्दारपूर्वक चित्रण गर्न सक्षम भएको बताइन्। यस सम्पादित पुस्तकको समीक्षात्मक निरूपण उपप्राध्यापक दिपेन शेर्पाले राख्दै समाविष्ट लेखहरूमा नीतिगत दृष्टिकोण पाउनाका साथै दिगो विकास, ग्राम्य र शहरका लागि प्रायोगिक दृष्टिकोणसहित शैक्षिक प्रयोजनसित जोडिएको बताए। उनले थप जानकारी गराउँदै यस सम्पादिक पुस्तकले विद्यार्थी र शोधार्थी साथै सो अध्ययनसित सम्बन्धित व्यक्तिहरूका लागि उपयोगी छ र यसले निश्चय नै मानिसलाई जनचेतना जगाउने र यसबारे क्षमता निर्माण गर्ने र पारिस्थितिक एवम् भोगोलिक हिमालय क्षेत्रको भविष्यलाई यसले सकारात्मक दिशानिर्देश गर्नेछ भनी आफू विश्वस्त रहेको बताए। डा शङ्कर प्रसाद शाहले आफ्नो मौलिक नवीनतम कृतिबारे बोल्दै यस पुस्तकमा विज्ञानसम्बन्धित कीटनाशक, एन्टिबायोटिक, प्रो-बायोटिक, फुट र औद्योगिक माइक्रोबायोलोजी विषयहरू समाविष्ट रहेको आफ्नो मन्तव्यमा बताए। उनले थप बताउँदै माइक्रोब किण्वन र दुध उत्पादनमा प्रयोग हुने अनि यो चिकित्सा क्षेत्रमा प्रभावित हुने थप उल्लेख गरे। डा शाहको उक्त पुस्तकको समीक्षात्मक निरूपण प्रस्तुत गर्दै उपप्राध्यापक डा. सुजाता कालिकोटेले माइक्रोबायोलजीका विविध क्षेत्रमा लेखकको गहन अध्ययन रहेको बताइन्। प्रमुख अतिथि डा मनोज लामाले आफ्नो पक्षमा मन्तव्य राख्दै यस प्रकारको उल्लेखनीय कार्यक्रम आयोजन गरेकोमा कलेज कतृपक्ष साथै लेखक, निरूपक सबैलाई बधाइ साथै धन्यवाद प्रकट गरे। पहाडको साहित्यिक र अन्य ज्ञानानुशासनात्मक प्राज्ञिक क्षत्रेमा उक्त चारैवटा पुस्तक धेरै उपयोगी र सङ्ग्रहनीय रहनेछ भन्ने उनले थप बताए। लोकार्पण कार्यक्रममा कलेज प्राचार्य डा. समीर बल अनि कलेजका वरिष्ठ प्राध्यापकहरू र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको धन्यवाद ज्ञापन उपप्राध्यापक दावा शेर्पाले गरे भनी डा सपन प्रधानले विज्ञप्तिमा जानकारी गराएका छन्।