पाकिम: पाकिम जिल्लाका कृषकहरूलाई आज विशेष कार्यक्रम आयोजन गरेर मुख्यमन्त्री कृषि आत्मनिर्भर योजनाअन्तर्गतको फसल उत्पादको प्रोत्साहन राशि वितरण गरियो। अतिरिक्त जिल्लापाल (विकास) कार्यालयको सम्मेलन कक्षमा आयोजित कार्यक्रममा राज्यका कृषि, पशुपालन एवं पशु चिकित्सा सेवा विभागीय मन्त्री लोकनाथ नेपालले छुजाचेन, नाथाङ-माचोङ, रिनाक अनि नाम्चेबुङ यी चारवटा समष्टिका लगभग चार सयभन्दा अधिक कृषकहरूलाई ५९ लाख रुपियाँ प्रोत्साहन राशि वितरण गरे।

वर्तमान राज्य सरकारद्वारा फसलहरूमा प्रोत्साहन राशि प्रदान गर्ने शुरु गरिएको यस अभियानमार्फत दशैंअघि यसरी आफूहरूले प्रोत्साहन राशि पाएकोमा कृषकहरूले राज्य सरकारप्रति कृतज्ञता प्रकट गरेका छन्। आजको कार्यक्रममा कृषि एवं बागवाणी विभागका अतिरिक्त निदेशक टी. छोपेल भोटिया, विभागीय अधिकारीहरू लगायत अन्यको उपस्थिति रहेको थियो।