गान्तोक: गत ३ र ४ अक्टोबर, टिस्टा त्रासदीका कारण आफ्नो घर पूर्ण रुपले गुमाएका पीड़ित परिवारका लागि सिक्किम सरकारले पुनर्वास योजना अन्तर्गत घर निर्माण गरिदिने मुख्यमन्त्री प्रेमसिंह तामाङले घोषणा गरेका छन्।
सरकारमा अहिलेसम्म प्राप्त जानकारी अनुसार १४२३ वटा घर पूर्ण रुपले क्षतिग्रस्त बनेका छन् भने यी मध्ये सिक्किम सब्जेक्ट, सीओआई, भोटर कार्ड वा पुर्ख्यौली जमिन भएका सबैको पुनर्वास योजना अन्तर्गत घर निर्माण गरिने मुख्यमन्त्रीले बताए। घर बनाउ योग्य जमिन नरहेका परिवारका लागि सरकारले जमिन पनि उपलब्ध गराउने मुख्यमन्त्रीले बताएका छन्।
आज, सोमवार सम्मान भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले पुनर्वास योजना अन्तर्गत २१०० घर निर्माण गरिने जानकारी दिए। बजार क्षेत्रमा घर नभएर फ्ल्याटमा बस्न चाहने मानिसहरूका लागि फ्ल्याट पनि उपलब्ध गराइने उनले बताए। यसरी नै बजार क्षेत्रमा बाढी आउनअघि रेन्टमा बस्दै आएका सिक्किमे नागरिकहरूलाई आवास उपलब्ध गराउन सरकारले हाउजिङ कोलोनी निर्माण गरेर तीन वर्षसम्मका लागि निःशुल्क र त्यसपछि सरकारी नियमको आधारमा रेन्टमा दिने सरकारको योजना रहेको जानकारी दिए। यसलाई जनता हाउजिङ कोलोनीको नाम दिइनेछ।
अहिले विस्थापित बनेका परिवारलाई आगामी तीन महिनासम्म घरभाडा तिर्न मासिक पाँच हजार रुपियाँ सरकारले दिने पनि मुख्यमन्त्रीले घोषणा गरे। बाढीका कारण घरको सम्पूर्ण सामग्री गुमाएका परिवारलाई सरकारले किचनको सामग्री, बाथरूम सामग्री, ओड्ने तथा ओछ्याउनेको व्यवस्था समेत सरकारले गरिदिने उनले बताए। खाता किताब गुमाएका विद्यार्थीलाई मुख्यमन्त्री विवेकाधिन कोषबाट १०,००० रुपियाँ र विभागबाट किताब उपलब्ध गराउने अनि पुल भत्किएर स्कूल जाने सम्पर्क विस्थापित भएका विद्यार्थीलाई स्कूल नजिकमा रेन्टमा बस्न चाहे सरकारले घरभाडा प्रदान गर्ने योजना रहेको मुख्यमन्त्रीले जानकारी दिए।
यसरी नै उच्च शिक्षामा शुल्क तीर्न नसकेका प्रभावित परिवारका विद्यार्थीको शुल्क पनि सरकार पक्षबाट व्यवस्था गरिने मुख्यमन्त्रीले जानकारी दिएका छन्। अर्कोतर्फ टिस्टा बाढीका कारण दोकान व्यवसाय गुमाएका मानिसहरूलाई व्यवसाय पुनर्स्थापित गर्न सरकारले विभिन्न ब्याङ्कबाट १० लाख रुपियाँसम्मको लोनको व्यवस्था गरिदिने र दुई वर्षको व्याज सरकारले तिरिदिने बताए।
यसरी नै ऋण लिएर व्यवसाय चलाइरहेका मानिसहरू, लोनमा गाडी लिएका तर बाढीले नस्ट गरेका मानिसहरूका लागि ब्याङ्करहरूलाई भनेर १२ महिना ईएमआई स्थगित राखिने र यसपछि पछिको ईएमआईमा ब्याज लाउन नपाउने व्यवस्था गरिने जानकारी दिए। दोकान तथा व्यवसाय गुमाएका मानिसहरूको क्षति आँकलन गर्ने काम भइरहेको र उनीहरूको क्षतिपूर्ति दिलाउन सरकारले हरसम्भव सहयोग दिने मुख्यमन्त्रीले बताएका छन्।
केन्द्र सरकारको टोली र राज्य सरकारको टोलीले टिस्टा बाढीबाट भएको क्षति आकलन गरिरहेको उनले बताए। यसरी नै दस्तावेज गुमाएका मानिसहरूको दस्तावेज निःशुल्क बनाउन पनि प्रत्येक जिल्लापाललाई निर्देश दिइएको जानकारी दिए। टिस्टा त्रासदीले सिक्किमलाई धेरै ठूलो नोक्सान गरेका कारण मानिसहरूलाई पुरानो स्थितिमा फर्किन धेरै समय लाग्ने भएकाले स्थिति सामान्य नभएसम्म पीडितहरूलाई हर सम्भव सहयोग गर्न सरकार बाहेक अन्य पक्षले पनि योगदान दिनुपर्ने मुख्यमन्त्रीले आग्रह गरेका छन्।
सामान्य जीवन फर्काउनका लागि सडक सम्पर्क स्थापित गराउन सबैभन्दा ठूलो आवश्यकता रहेका कारण यसबारे द्रुत गतिमा काम भइरहेको उनले जानकारी दिए। टिस्टामा बाढी आउनुको मुख्य कारण बादल फटेपछि दक्षिण ल्होनाक ताल फुटेको भएपनि अधिक क्षतिको कारण भने सिक्किम उर्जाको बाँध फुट्नु नै हो भन्ने मुख्यमन्त्रीले ठहर गरे। पूर्वको एसडीएफ सरकारले सिक्किम उर्जाको बाँध निर्माण कार्यलाई सही ढङ्गमा निगरानी नगरेको, सेन्ट्रल वाटर कमिसनको आधारमा बाँध निर्माण नभएको र टिस्टा उर्जाको प्रोजेक्टमा व्यापक धाँधली भएका कारण सिक्किमले यति ठूलो नोक्सानी झेल्न परेको हो भन्ने उनले ठहर गरे।
यस बाँधको निर्माण कार्यलाई लिएर फोरेन्सिक जाँच भइरहेको र विनासको पूर्ण जिम्मेवार टिस्टा उर्जाको बाँध भत्किनु नै रहेको उनले बताएका छन्। मुख्यमन्त्रीले बाँध पुनः निर्माण गर्ने नगर्ने बारे एक्सपर्ट कमिटी बनाएर जाँच गराएपछि मात्र निर्णय लिइने बताए। केन्द्र सरकारबाट टिस्टा त्रासदीमा पूर्ण सहयोग भइरहेको जानकारी दिँदै क्षतिको पूर्ण आकलनपछि केन्द्रले उचित सहयोग राशि दिनेछ भन्ने भरोसा रहेको मुख्यमन्त्री जानकारी गराए। उनले अन्य सँगै टिस्टा बाढीका कारण उत्तर सिक्किममा फसेका वाहन चालकहरूलाई पनि राहत दिइने बताएका छन्।