पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल, डुगाका खण्ड विकास अधिकारी आईबी छेत्री लगायत अन्य अधिकारीहरूले आज सडक एवम् पुल विभागद्वारा गोलीटारमा गरिएको सर सफाईको प्रगतिबारे जानकारी लिए।
उल्लेखनीय छ, गत ४ अक्टोबरमा उत्तर जिल्लाको ल्होनाक झील परिसरमा बादल फाटेपछि टिस्टा नदीमा आएको बाढीले मंगन जिल्लाको लाचेन, लाचुङ र चुङथाङमा व्यापकरूपमा क्षति पुऱ्याएको थियो। सोही प्रकारले पूर्व जिल्लाको सिङताम, गोलीटार, रम्फू र आईबीएममा पनि यसको व्यापक प्रभाव परेको छ।
सिङतामस्थित गोलीटारमा पनि धेरै घर साथै सरकारी सम्पतिलाई क्षति पुगेको छ। उक्त घटनालाई ध्यानमा राख्दै विभिन्न संघ संस्था र व्यक्ति विशेषले पनि उद्धार कार्यमा सहयोग पुऱ्याइरहेको छ। टिस्टा नदीले प्रभावित बनेको गोलीटारका घरहरूमा बालुवा, माटो पसेर घरभित्र मानिसहरू बस्न नसक्ने स्थिति उत्पन्न भएको छ।
हाल गोलीटारको घरहरूबाट माटो, हिलो, बालुवा निकाल्ने काम ६० प्रतिशत पूरा भएको निरीक्षणको क्रममा टोलीले पाएको बताइएको छ। धेरै वटा घरहरूबाट बालुवा, माटो, हिलो निकालेर घर मालिकहरूलाई हस्तान्तरण गरिएको जानकारी जिल्लापालले गराए। निरीक्षणको क्रममा जिल्लापालले विभागद्वारा गरिएको कार्य प्रति सन्तुष्ट व्यक्त गर्दै शीघ्र सबै घर मालिकहरूलाई घर हस्तान्तरण गरिने भएको छ।