कालचिनी: एउटा जंगली हात्तीको आक्रमणमा परेर मरणासन्न अवस्थामा सुन्तलाबारी बनबस्ती निवासी ६२ बर्षीय गाउँले रामबहादुर लामालाई शुक्रबार अबेर साँझ बनकर्मी र गाउँलेहरुको मदतमा अलिपुरद्वार जिल्ला अस्पताल लगेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार आशङ्काजनक अवस्थामा घाईते रामबहादुर लामालाई सिलगढ़ी रेफर गरिएको बताईएको छ भने मृत्युसित हाल तिनी अस्पतालमा जुझिरहेको गाउँलेहरुले जनाएका छन।
थाह लागे अनुसार रामबहादुर लामा शुक्रबार अपरान्ह समय साइकलमा गङ्गुटिया जङ्गलको बाटो भएर २८ माइल टावर क्षेत्र पार गर्न लाग्दा बीच बाटोमा तिनको एउटा जंगली हात्तीसित जम्काभोट भएको थियो। हात्तीले तिनलाई आक्रमण गरेर गम्भीर घाईते बनाएको थियो भने बनकर्मीहरुले घाईते रामबहादुर लामालाई उद्धार गरेर अस्पताल लगेको थियो तर अलिपुरद्वार जिल्ला अस्पतालबाट पनि तिनलाई सिलगढ़ी रेफर गरिएको परिवार सदस्यहरुले जनाएका छन।
बक्सा जंगलको २८ माइल टावरको बाटो कोर क्षेत्र भएता पनि २८ बस्ती बक्सा रोड र सुन्तलाबारी बस्तीका मानिसहरु प्रायजसो त्यही बाटो भएर गङ्गुटिया बस्ती, चिञ्चुला, राईमाटाङ र कालचिनी आउजाउ गर्ने गरेको तर शुक्रबार सुन्तलाबारी निवासी रामबहादुर लामा साइकलमा सवार भएर गङ्गुटिया बस्तीबाट २८ माइल टावरको बाटो आईरहेको समय अचानक बीच बाटोमा जंगली हात्तीसित जम्काभोट हुँदा जंगली हात्तीको आक्रमणमा परेर मरणासन्न अवस्था भएको थियो। हात्तीको तिखो दाराको प्रहारमा रामबहादुर लामाको खुट्टा र हातको मांसपेशी सबै च्यातिएको बताईएको छ भने आशङ्काजनक अवस्थामा तिनको अहिले सिलगढ़ीमा उपचार चलिरहेको बताईएको छ। यस सम्बन्धमा बन विभागले केही मन्तव्य दिएका छैनन।