निक्कै क्षति भएकोले एकदिनको श्रमदान गरिदिने सबैलाई अपिल गर्दछु: श्याम शेर्पा
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीका प्रतिनिधिहरूले आज रम्फु पुगेर टिस्टाको बाढ़ले प्रभावित क्षेत्रहरूमा दिनभरि श्रमदान गरेका छन्। २८ नम्बर समष्टीके सभासद श्याम शेर्पाको अगुवाईमा १४ गाड़ी भागोप्रमो, युवा शक्ति र नारी शक्तिका प्रतिनिधिहरूले टिस्टाले प्रभावित रम्फु क्षेत्रमा पुगेर श्रमदान गरेका छन्।

२८ नम्बर समष्टीको पक्षमा युवाहरूले रम्फुमा टिस्टाक बाढ़ले बगाएर ल्याएको बलुवाहरू घरहरूबाट हटाउन श्रमदान गरेका थिए। जीटीए चिफ् अनित थापाले टिस्टापछि रम्फुमा गएर कार्य गरिरहेको कारणले खरसाङ देवराली समष्टीको प्रतिनिधिहरूले पनि रम्फु पुगेर दिनभरि श्रमदान गरेर बेलुकी फर्केका छन्। यस अवसरमा सभासद श्याम शेर्पा, चिमनी देवराली ग्राम पञ्चायतको समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेस थापा, समष्टीको सल्लाहकार प्रेम बम्जन, महकुमा सदस्य निमा नाङ्गेल लेप्चा, नारी शक्तिको सांगठनिक सचिव ललिता छेत्री, युवा शक्तिबाट योगेस गुरूङ, अनिल राई साथै धेरै मात्रामा युवाहरू सामेल भएर श्रमदान गरिएको बताइएको छ।

प्राकृतिक प्रकोपले प्रभावित बनेको यो दु:खको घड़ीमा खरसाङ देवराली समष्टीको विभिन्न क्षेत्रहरू मन्टिभियट, वार्ड नम्बर ७ र ९, चित्रे बस्ती, मझुवा, चिमनी, खुन्द्रुके बस्ती आदिबाट प्रतिनिधिहरू रम्फु पुगेर श्रमदान गरेको जानकारी प्राप्त भएको छ। उक्त श्रमदान विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले आज २८ नम्बर समष्टीबाट १४ गाड़ी प्रतिनिधिहरू रम्फुमा आएर दिनभरि श्रमदान गरेको बताएका छन्। उनले यहाँ आएर हेर्दा धेरै क्षति भएको र पुनर्वासको लागि धेरै समय लाग्न सक्ने देखिएको बताएका छन्। उनले सबैलाई रम्फुमा एकदिनको लागि भए पनि आएर श्रमदान गरेर सहयोग गरिदिने आह्वान् पनि गरेका छन्। त्यसरी नै चिमनी देवराली ग्राम पञ्चायतको समिति सदस्य दिनेश तामाङ र पञ्चायत सदस्य दिपेस थापा लगायत अन्य युवाहरूले पनि विस्तृत रूपमा जानकारी गराएका छन्।