आत्मनिर्भरताको बाटो देखाउँदै खरसाङमा ‘गोर्खे हाट’

Gorkhey-Haat-5-1

‘भोकल फर लोकल’ यो नारा हिजोआज वैश्विक रुपमा निक्कै प्रचलित हुन थालेका छन्l ‘भोकल फर लोकल’को अर्थ हुन्छ स्थानीय उत्पादन, स्थानीय उत्पादक, स्थानीय उद्यमीहरूलाई प्रवर्द्धन गर्नु होl यस्तै विषयमा दार्जीलिङ पहाडका बारेमा चर्चा गर्नु हो भने दार्जीलिङ र कालेबुङ भन्दा खरसाङ पछि परेको छl पहाडमा घरेलु-लघु उद्योग र स्थानीय उत्पादनको व्यापारलाई विस्तार गर्ने क्रममा कालेबुङ उहिलेदेखि नै अग्रगामी पथमा छl

समयको गतिसँगै हिजोआज खरसाङमा साना साना घरेलु उद्योगद्वारा स्थानीय उत्पादनहरूको व्यापार विस्तार शुरु भएको छl व्यापार विस्तार भए पनि स्थानीय उत्पादनहरूको व्यापारका लागि बजार व्यवस्था गर्न निक्कै चर्को नै छl अब यसको लागि एउटा उपयुक्त मंच तयार भएको छ ‘खरसाङ गोर्खे हाट’l १५ अक्टोबर आइतबार बडा दशैंको आगमन नौरथा अर्थात घटस्थापनाको शुभ दिनदेखि खरसाङ बजारदेखि केही पर टुरिस्ट लजको माथि ‘खरसाङ गोर्खे हाट’ शुरु भएको छl यो हाट अब हेरक आइतबार बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म लाग्नेछl

गोर्खे हाटको पहिलो दिन निक्कै रमाइलो परिवेशमा बित्योl हाटमा स्थानीय मानिसहरूमा निक्कै उत्साह र खुशी छाएको थियोl आफ्नै उत्पादन, आफ्नै पौरखमा उमारेको जैविक सागसब्जीले भरिएको यस हाटमा मोमो, स्थानीय खानाहरू कोदोको ढेडो, मकैको भात, वाचिपाको स्वादमा किनमेलका लागि आउनेहरू जिब्रो पड्काइरहेका थिएl ‘खरसाङ गोर्खे हाट’ एउटा साधारण हाट मात्र नभएर दुर्गम गाउँ-बस्तीका उद्यमीहरूका लागि नयाँ उर्जा, नयाँ मंचको रुपमा तयार गरिएको छl यसैले हाटमा व्यापार गर्न आएकी बाघगौडाको कोइला गोदाम गाउँकी ईशारा गुरुङ निक्कै खुशी थिइन्l उनी गाउँबाट जैविक सागसब्जी बिक्री गर्न आएकी थिइन्l पहिला गाउँबाट उठेर कहिले कसैलाई कहिले कसैलाई बिक्री गर्थिन्l यस्तो हुँदा उनले उचित मूल्य पाउँदिन थिइन्l सागसब्जी उनी आफै पनि उत्पादन गर्छिन्l हाटमा पसल राख्दा बिक्री राम्रो भएपछि ईशारा गुरुङ खुशी हुँदै भन्छिन्, ‘यहाँ दाम राम्रो पायौंl’ हाटमा पसल राख्न आएका अन्य ईशारा गुरुङहरूका अनुहारमा पनि उस्तै नयाँ उर्जाले खुशीको आभास झल्किरहेको थियोl निक्कै जोशमा धेरै जस्ता जातीय पोशाकमा चिटिक्क परेर पसल थाप्न बसेका थिएl खरसाङकै उर्जाशील व्यक्तिहरू विजय सिञ्चुरी, जितु गिरी, महेश छेत्री, सन्त किशोर गुरुङ साथै हाटका आयोजक अन्य सदस्यहरूको सक्रियतामा यो नयाँ सकारात्मक पहल खरसाङमा शुरु भएको छl यसको लागि खरसाङ नगरपालिकाले सहयोग पुर्याएको छl 

‘खरसाङ गोर्खे हाट’ले सन् १९८० को दशकअघि हालको खरसाङ बजारमा लाग्ने आइतबारे हाटको रमाइलोपनलाई स्मरण गराएको छl सन् १९७० दशक आफू सानो फुच्चे केटा हुँदा आइतबारे हाटको हल्का धमिलो सम्झना मात्र आउँछl त्यति बेला चौबन्दी चोली-फरिया, लगाएकी बज्यैहरू थुन्चे-डोकोमा बस्तीका उत्पादनहरू लिएर आइतबारे हाटमा बिक्री गर्न आउँथेl यसपाली ‘खरसाङ गोर्खे हाट’ले खरसाङको रौनकलाई फर्काएको छl यस हाटमा दार्जीलिङ, बिजनबारी, रिम्बिक, मिरिक, तीनधारे, महानदी, घैयाबारी, घुम्ती, सिटोङ, रोहिणी, सिविटार, मालुटार, सोनादा खरसाङ वरिपरिका उद्यमीहरूद्वारा उत्पादित जैविक सागसब्जी, जैविक मल, खेतीपाती र घाँस दाउराका लागि चाहिने हँसियालगायत अन्य औजारहरूका साथमा खुकुरी पनि बिक्रीमा राखिएको थियोl खरसाङकै युवा उद्यमीद्वारा उत्पादित जैविक चिया अनि रिम्बिक फ्रेसद्वारा उत्पादित खाद्यान्नहरू विशेष आकर्षण थियोl     

‘खरसाङ गोर्खे हाट’का सचिव महेश छेत्रीले भन्छन्, ‘हामीले दुई महिनादेखि गोर्खे हाटका लागि पहल गरिरहेका थियौंl अब यो शुरु भएको छ। यसको लागि खरसाङ नगरपालिका र स्थानीय प्रशासनलाई थन्यवाद दिन्छौंl’ उनी भन्छन्, ‘हामीले गोर्खे हाटमा स्थानीयहरूलाई आफ्नै हातले बनाएका सामग्रीहरू प्रवर्द्धन गर्न साथै आफ्नै क्षेत्रमा उत्पादन गरिएका उत्पादनहरू बिक्रीमा राखिएको छl विशेष गरेर युवा उद्यमीहरू र व्यवसायीहरूलाई अवसर प्रदान गरिएको छl सरकारी नोकरी मात्र होइन तर व्यवसाय र उद्यमशीलताबाट पनि रोजगार गर्न सकिन्छ भन्ने हाम्रो उद्देश्य होl यसका साथै खरसाङमा पर्यटकहरू आएर स्थानीय उत्पादनहरू किन्न सकोस्, र यहाँ केही समय बिताउन सकोस् भन्ने उद्देश्य रहेको छl’ हाटमा पसल राख्नका लागि १५० वटा आवेदन आएको भए पनि पहिलो दिन साना ठूला गरेर करिब ७५ वटा पसलहरू राखिएको थियोl गएको तीन दशकदेखि खरसाङ क्षेत्रमा पर्यटनलाई प्रवर्द्धन गर्दै आइरहेका जितु गिरी ‘खरसाङ गोर्खे हाट’का उपाध्यक्ष हुन्l यो हाट खरसाङमा पर्यटकहरू लागि आकर्षण हुने उनी बताउँछन्l जितु गिरी भन्छन्, ‘हाम्रा कृषकहरू र उद्यमीहरूका लागि मंच तयार गरेका हौँl’

यो हाट समग्र खरसाङको लागि नयाँ सकारात्मक पहल भएको छl यो हाट हेरक युवालाई उद्यमी बन्ने र आत्मनिर्भर बन्ने मार्गमा प्रेरणा साथै उर्जाको स्रोत बनेको छ भने, स्थानीय उत्पादनहरूलाई प्रवर्द्धनका बजार व्यवस्थाका लागि भविष्यमा एउटा सशक्त प्रभावकारी मंच बन्न सक्नेछl यस्ता सामाजिक विकासका पहलहरूलाई सहयोग पुर्याउन पहाडको क्षेत्रीय प्रशासनिक व्यवस्था जीटीए जस्ता निकायहरूको दायित्व बन्दछl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *