गान्तोक: “सिक्किमलाई आइपरेको विपद्को यस घड़ीमा एसडीएफ पार्टी जनताको साथमा छौं। यस दुःख र संकटबाट जनतालाई मुक्ति दिलाउन सरकारका साथमा छौं। सरकारले हामीलाई दुश्मन ठान्नु हुँदैन।” उक्त मन्तव्य आज सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रिय कार्यकारिणी समितिको सभालाई सम्बोधन गर्दै व्यक्त गरेका हुन्।
सम्बोधनका क्रममा उनले पीड़ित जनतालाई कसरी उद्धार गर्नसकिन्छ भन्ने विषय मुख्य रहेको बताए। आफू बाढ़ीप्रभावित सबै क्षेत्रहरूमा आजसम्म नपुगे तापनि एसडीएफ पार्टीका नेतागणलगायत सहयोद्धाहरू पुगेर सेवा कार्यमा जुटेको जानकारी गराए।
चामलिङले भलबाढ़ी पीड़ित जनताका पक्षमा सरकारसमक्ष महत्त्वपूर्ण सुझाउहरू राख्दै भलबाढ़ीका कारण ज्यान गुमाउने सरकारी कर्मचारीका परिवारलाई अनुग्रह राशि रुपियाँ ५० लाख र अन्य ज्यान गुमाउनेका परिवारलाई अनुग्रह राशि रुपियाँ २५ लाख, जनताका क्षति भएको आकलन गरी सम्पूर्ण क्षतिको आपूर्ति गरिनुपर्छ, काठको घर भत्किएका जनतालाई ३०/४० को दुइतले बिल्डिङ बनाइदिनुपर्ने, बेघर भएका जनतालाई सरकारले घर निर्माण नगरेसम्म रु. दश हजारदेखि बीस हजारसम्म प्रतिमहिना घरभाड़ा दिनुपर्ने, कागज-पत्र हराएका जनतालाई सरकारले पुनः कागज-पत्र दिलाउनुपर्ने, पीड़ित परिवारका एक सदस्यलाई सरकारी नोकरी अथवा कमाइखाने कामको व्यवस्थापन गरिनुपर्ने, नोकरी गर्नेले ज्यान गुमाएका परिवारका एक सदस्यलाई बद्लीमा नोकरी दिनुपर्ने, सरकारले भलबाढ़ी पीड़ितहरूलाई कुनै पनि जात, धर्म, वर्ग र पार्टी नछुट्टाई क्षतिपूरण गर्नुपर्छ भने।
“अहिलेको समय सिक्किमलाई बचाउने समय हो। यस घड़ीमा जनतालाई सेवा दिन निःस्वार्थ भएर जन, धन र श्रमद्वारा सेवा पुर्याउने स्वयंसेवीहरूलाई एसडीएफ पार्टी र सिक्किमेली जनताका तर्फबाट हार्दिक धन्यवाद दिँदछु। पीड़ितहरूको पक्षबाट कृतज्ञता प्रकट गर्दछु”, चामलिङले भने।
एसडीएफ अध्यक्षले अझ भने, “एसडीएफ पार्टी सिक्किम र सिक्किमेली जनतालाई सुरक्षा दिने पार्टी हो। यसैले जनताको उद्धार र सुरक्षामा हामी अहिले केन्द्रित छौं। पीड़ितहरूको दुःख र समस्यालाई मात्र हामी देखिरहेका छौं। उहाँहरूको पीड़ालाई कसरी सुखमा फेर्ने भन्ने हाम्रो अभियान र तपस्या निरन्तर अघि बढ़िरहनेछ। यस दुःखको घड़ीमा हामीले राजनीति गर्नुछैन। कसैलाई आक्षेप लाउनुछैन।
राज्यका सबै क्षेत्रहरूबाट उपस्थित रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई एसडीएफ अध्यक्षले पार्टीको दिशा निर्देशन दिँदै “एसडीएफ पार्टी सामुहिक नेतृत्वमा चल्ने पार्टी हो। सबै मिलेर सिक्किमको सुरक्षा र सिक्किमेली जनताको पहिचान बचाउन प्रतिबद्ध बन्नुपर्छ” भने। यसका साथै पार्टीले सुम्पिएको जिम्मेवारीलाई सबैले निर्वाह गर्नुपर्छ भनेर चामलिङ पार्टी पदाधिकारीहरूलाई आग्रह गरे।
एसडीएफ पार्टीद्वारा आयोजित आजको सभामा पाँचै जिल्लाका अध्यक्षगणले राहत सेवामा जुटेका कार्य प्रतिवेदन पेश गरिएको जानकारी एसडीएफले प्रेस विज्ञप्तिमा दिएको छ।