गान्तोक: सिटिजन एक्सन पार्टी-सिक्किमले आज एक पत्रकार सम्मेलन आयोजन गरेर टिस्टा नदीमा आएको बाढीको निम्ति पूर्व र वर्तमान दुवै सरकारलाई जिम्मेवार ठहर गरेको छ। टिस्टाको बाढीलाई मानव सिर्जित आपदा थियो भन्ने बताउँदै दुवै सरकारको लापरवाहीले गर्दा टिस्टा किनारमा बस्ने मानिसहरूले ठूलो नोक्सानी उठाउन परेको पार्टीले बताएको छ।
आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिटिजन एक्सन पार्टी सिक्किमका कार्यकारी अध्यक्ष डीबी चौहानले सिक्किममा पूर्व सरकारले व्यापक परियोजना भित्र्याएका कारण राज्यले आपदा बेहोर्नु परेको बताए भने पूर्व सरकारमा ड्याम निर्माणमा भ्रष्टाचार भएको तर वर्तमान सरकारले कुनै जाँच नगरेका कारण ड्याम फुट्न पुगेको आरोप लगाए। अर्कोतिर ३ अक्टोबरको राति १०:४० बजी मुख्यमन्त्रीले ड्याम फुटेको खबर पाएर पनि १२ बजीसम्म मगनमा जनता भेटिरहेकाले आपदाको खबर पाएर पनि जनतालाई बचाउने काममा गम्भीर नदेखिएका चौहानको आरोप छ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डीबी चौहानले भने, उत्तर जिल्लाको चुङथाङ, डिक्चु, सिङताम, रम्फूमा खबर ढिलो भएकाले निर्दोष मानिसहरूको जन-धनको क्षति भएको छ। उक्त घटनाले सरकारको आंकड़ा अनुसार ८७ हजार व्यक्ति प्रभावित भए। चुङथाङकै मानिसले बिहानको २ बजीमात्र थाहा पाए। यो षड़यन्त्रपूर्वक रचिएको मानव आमन्त्रित घटना हो भनेर मान्न सकिन्छ। सरकारले ड्याम सेफ्टी एक्टलाई अध्ययन गर्न सकेन जसका कारण ठूलो क्षति भएको छ।
सिक्किम सरकार राहत कार्यलाई लिएर पनि गम्भीर नरहेको सिटिजन एक्सन पार्टीको भनाइ छ। चौहानले थप भने, आगामी १६ तारिकदेखि स्कूल, कलेज लाग्दै छ, तर विद्यार्थीहष् कुन कपड़ा लगाएर स्कूल जान्छन्? सरकारले पीड़ित परिवारमाथि राजनीति गरिरहेको छ। पीड़ित परिवारलाई पुर्नवासको निम्ति राज्य सरकारसँग के प्रबन्ध छ? आजसम्म मुख्यमन्त्री चुङथाङ पुग्नु नसक्नु अत्यन्त दूर्भाग्यजनक र आश्चर्यको विषय हो। सरकार हरेक कदममा चुक्यो र चुकिरहेको छ। २००३ मा वैज्ञानिकहरूले टिस्टामा ड्याम बनिनु हुँदैन भनेर जुन चेताउनी दिएका थिए त्यसलाई सरकारले नमानेको परिनाण ४ अक्टोबर २०२३ मा देखिएको सिटिजन एक्सन पार्टीले बताएको छ।
फत्रकार सम्मेलनमा बोल्दै सिटिजन एक्सन पार्टीका कार्यकारी अध्यक्ष चौहानले भने, नाफा खोर र पुजिपतिहरूको इशारामा नाच्ने पूर्व र वर्तमान दुवै सरकारहरूको गलत नीति र निर्णयका कारण सिक्किमले आज यो दुःख भोग्नु परिरहेको छ। हामी सबैलाई जानकारी गराउन चाहन्छौं कि सिटिजन एक्सन पार्टी, सिक्किम सत्तामा छैन तर पनि मानवताको मूल्यमा यस आपत घड़ीमा जे जती गरिरहेको छ त्यो निश्वार्थ नागरिको जिम्मेवारीको रूपमा गरिरहेको छ।