ड्याम सेफ्टी एक्ट अनुसार एसकेएम सरकारले काम नगरेकाले सिक्किम उर्जाको ड्याम फुटेको एसडीएफको आरोप

1000361161.jpg

गान्तोक: सिक्किम सरकारले ड्याम सेफ्टी एक्ट २०२१ लागू नगरेको र यस अधिनियम अन्तर्गत ड्यामको सुरक्षाका लागि तय गरिएका दिशानिर्देशलाई सरकारले पालन नगरेका कारण चुङ्थाङस्थित सिक्किम उर्जाको ड्याम फुटेको हो भन्ने गम्भीर आरोप एसडीएफ पार्टीले एसकेएम सरकारमाथि लगाएको छ।

सिक्किम उर्जाको ड्याम फुट्नुमा पूर्ण जिम्मेवार एसकेएम सरकार रहेको ठहर गर्दै सरकारले कानून पालन नगरेका कारण नै ल्होनाक लेक फुटेर टिस्टामा आएको बाढीले व्यापक क्षति भएको एसडीएफको आरोप छ। यस बाहेक ल्होनाक लेक फुटेको सूचना समय पाएर पनि मुख्यमन्त्री र राज्य प्रशासनले समयमा मानिसहरूलाई सतर्क नगराएको जसले गर्दा बचाउन सकिने सम्पति टिस्टाको बाढीले नष्ट गराएको एसडीएफले आरोप लगाएको छ।

आज शनिवार एसडीएफ मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसडीएफ पार्टीका मुख्य प्रवक्ता एमके सुब्बाले सिक्किम उर्जाको ड्याम फुट्नुको पूर्ण जिम्मेवार वर्तमान सरकार रहेको ठहर गरे। ड्यामको सुरक्षमा सरकार पक्षबाट व्यापक लापरबाही भएको तर यसलाई स्वीकार गर्न नसकेपछि ड्याम सब स्ट्यान्डरको थियो भनेर मुख्यमन्त्रीले एसडीएफ माथि आरोप लगाएर जनतालाई दिगभ्रमित गर्ने काम गरेको बताए।

उनले सिक्किम उर्जाको चुङथाङ अवस्थित ड्याम मुख्यमन्त्रीले भनेको जस्तै यदि सब स्ट्यान्डरको थियो भने ड्याम सेफ्टी एक्ट अन्तर्गत सरकारले किन यसको जाँच गराएन भन्ने प्रश्न सरकारलाई गरेका छन्। एसडीएफ प्रवक्ता एमके सुब्बाले चुङथाङको ड्यामको डिजाइन ड्याम सेफ्टी अन्तर्गत थियो र ड्याम केन्द्र सरकारको नियम अन्तर्गत निर्माण भएको थियो भन्ने दावी गर्दै ड्याम निर्माणको सम्पूर्ण कार्य सरकारले कानून अन्तर्गत नै गरेको थियो भनी दाबी गरे।

ल्होनाक फुटेको खबर समय छँदै पाएर पनि यो ड्यामलाई बचाउन सरकारले किन प्रयास गरेन भन्ने उनले प्रश्न गरेका छन्। ल्होनाक लेक फुट्न सक्छ भनि वैज्ञानिकहरूले लगातार दिएको चेताउनीलाई पनि एसकेएम सरकारले नजरअन्दाज गरेको सुब्बाले आरोप लगाए। ८ सेपेप्टेम्बर २०२३ मा सिक्किम सरकारले वैज्ञानिकहरूको साथमा ल्होनाक लेक एक्सपिडिसन गराएको तर अहिलेसम्म यसबारे रिपोर्ट सार्वजनिक गरेको छैन भन्दै एसकेएम सरकार आपदासित सम्बन्धित कुनै पनि विषय र चेताउनीमाथि गम्भीर नरहेकाले सिक्किम लगायत पश्चिम बङ्गालसमेतले टिस्टाको बाढबाट ठूलो नोक्सानी बेहोर्नुपरेको बताए।

टिस्टा बाढको यति समय बितिसक्दा पनि सरकारले क्षतिको प्राथमिक रिपोर्ट तयार पार्न नसकिरहेको उनले बताए। टिस्टा बाढले सिक्किम उर्जाको ड्याम फुट्नुको मूल कारण कानूनको उल्लङ्गन नै रहेकाकाले एसडीएफ पार्टीले सिक्किम उर्जाका एक्जुकेटिभ चेयरमेन सुनिल सरौगी विरुद्ध गान्तोक सदर थानामा एफआईआर दर्ता गरेको एसडीएफ प्रवक्ता एमके सुब्बाले जानकारी दिए। उनले बाढको कारण ज्यान गुमाएका मानिसहरूका परिवारलाई १० लाख रुपियाँको अनुग्रह राशि दिनुपर्ने माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement