अहिले पहाड़को अवस्था गम्भीर छ र गोजमुमोले पहाड़को स्थिति हेरेर काम गर्नेछ: बिमल गुरुङ
दार्जिलिङ: दार्जिलिङको मालीधुरामा गोर्खा जनमुक्ति मोर्चाको १६औं स्थापना दिवस सम्पन्न भएको छ। पहाड़मा राजनैतिक पार्टीको रूपमा 7 अक्टोबर सन् २००७ मा स्थापना गोर्खा जनमुक्ति मोर्चाको यसपाली १६औं स्थापना दिवस यसपाली सिक्किम र टिस्टा क्षेत्रमा आएको प्राकृतिक प्रकोपको कारण ७ अक्टोबरको दिन नभएर आज सम्पन्न भएको छ। उक्त स्थापना दिवसमा गोजमुमो पार्टीका समर्थकहरू पहाड़ र तराई डुवर्सबाट भेला भएका थिए। विभिन्न सांस्कृतिक कार्यक्रमहरूसहित सम्पन्न स्थापना दिवसमा गायक महेश सेवाले पनि आफ्नो प्रस्तुति दिएका थिए। गोजमुमोको स्थापना दिवसमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे पनि उपस्थित भएर वक्तव्य राखेका थिए। कार्यक्रममा मुख्य वक्ताको रूपमा गोजमुमो अध्यक्ष बिमल गुरुङले वक्तव्य राखेका थिए। स्थापना दिवस कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले पहाड़ अहिले गम्भीर अवस्थामा पुगेको छ र पहाड़को लागि अब गोजमुमोले केही गर्छ भनी बताएका छन्। उनले अब दशैं तिहारपछि गोजमुमोले पहाड़को अवस्था हेरेर काम गर्दै जानेछ भनी बताएका छन्।

पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै बिमल गुरुङले पार्टीको स्थापना दिवसमा जाति, माटो र स्वाभिमानको लागि आफ्नै बलबुदाँमा पहाड, तराई र डुवर्सबाट आएका समर्थकहरूलाई धन्यवाद दिएका छन्। उनले अहिलेको पहाड़को स्थिति ठीक छैन र अवस्था गम्भीर छ भन्दै अब पहाड़को स्थिति हेरेर गोजमुमोले काम गर्ने बताएका छन्। उनले दशैं तिहारपछि कार्यक्रमको घोषणा हुने बताउँदै सरकारसित वार्ता पनि भईरहेको छ र भारत सरकारले पहाड़को लागि अवश्य केही सोचेको छ भनी दावी गरेका थिए।