विश्वकपमा भारत र पाकिस्तान, कसको दाउ के?

IMG-20231014-WA0205.jpg

भरतको अहमदाबाद सहर आज भारतीय क्रिकेटको ‘एपीसेन्टर’ बन्दै

१ लाख ३० हजार दर्शक क्षमताको नरेंद्र मोदी स्टेडियममा हुने भारत-पाकिस्तानबीचको क्रिकेट हेर्न समर्थकहरू मात्र नभई, राजनीतिज्ञ, उद्योगी, क्रिकेट अधिकारीहरूका आँखा व्यग्र प्रतीक्षामा छन्।
चिर प्रतिद्वन्द्वी भारत-पाकिस्तानबीचको खेल एउटा यस्तो प्रतिस्पर्धा हो, जसमा खेलको रोमाञ्चसँगै व्यापार र राजनीतिसँगै प्रतिद्वन्द्वी सम्बन्ध रहेका दुई दक्षिण एशियाली देशहरूको कूटनीति पनि गाँसिएको छ।

दुई देशबीचको चरम राजनीतिक समस्याका कारण सन् २०११ पछि भारत र पाकिस्तानले मैत्रिपूर्ण क्रिकेट नखेलेपछि यी दुईको भेट अन्य प्रतियोगितामा मात्र हुने गर्छ। र त्यस्ता खेल सधैँ विशेष बन्दै आएका छन्। विश्वकप क्रिकेटमा भारत र पाकिस्तान आमनेसामने हुन लागेको यो आठौँ पटक हो। रमाइलो तथ्य के हो भने पछिल्लो सात भेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। अर्थात् विश्वकपमा भारत सात पाकिस्तान शून्यको अवस्था हो।

आक्रोशित पाकिस्तानी समर्थक
‘एपीसेन्टर’ अहमदाबादको माहोल अहिले बेग्लै छ। त्यहाँका होटलहरू सामान्य बेला भन्दा पाँच गुणा सम्म महँगिएका छन्। भारतीय प्रधानमन्त्रीको नाममा रहेको ‘नरेन्द्र मोदी स्टेडियम’ विश्वको सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला हो।

समर्थकहरूको त कुरै नगरौँ।                                 शनिवार निःसन्देह त्यहाँको भरिभराउ स्टेडियममा निलो रङ्गको भारतीय जर्सीको बहुमत देखिन्छ। पाकिस्तानी समर्थकहरू आफूहरूलाई रङ्गशाला पुग्ने वातावरण आयोजकले नदिएको भन्दै आक्रोशित भएका छन्। एक त भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन गरिँदा धेरै समर्थकहरूको पूर्व तालिका बिथोलिएको थियो।

भारतको दाउ, पाकिस्तानको आत्मविश्वास
निःसन्देह भारत विश्वकपमा पाकिस्तान विरुद्धको एकतर्फी नतिजालाई निरन्तरता दिने प्रयासमा हुने छ। पाकिस्तानी समर्थकहरू भने अबको नतिजा ७-१ होस् भन्ने चाहनामा छन्। दुवै टोलीले जारी विश्वकपमा प्रभावकारी प्रदर्शन गरिरहेका छन्। पाकिस्तानले भारतसँग खेल्नु अगाडि श्रीलङ्काविरुद्ध ऐतिहासिक रन पछ्याएर आत्मविश्वास बलियो बनाएको छ। यता कप्तान रोहित शर्माको कीर्तिमानी विश्वकप शतक बनाएको भारत घरेलु भूमिमा झन् सशक्त देखिन्छ।

पाकिस्तानको भारतसँगको पछिल्लो भेटको नमिठो सम्झना भने हुनेछ। श्रीलङ्का एशिया कपमा भएको दुई भेटमा एकमा वर्षा वाधक भए पनि अर्को भेटमा भारत २२८ रनले विजयी भएको थियो।

विश्वकपमा सात पटक भारतसँग हारेको प्रश्नमा पाकिस्तानका कप्तान बाबर आजमले प्रि म्याच प्रेस कन्फ्रेन्समा भने, “म हिजो के भएको थियो भन्नेमा केन्द्रित हुन्नँ। भोलीको बारेमा मात्र सोच्छु। ” के ठूलो सङ्ख्यामा रहेका घरेलु दर्शक सामु खेल्दा दबाव बढ्न सक्छ? भारतीय कप्तान रोहित शर्मालाई यस्तो प्रश्न सोधिएको थियो।

उनी भन्छन्, “ठूलो सङ्ख्याका दर्शकसँग खेल्न त हामीलाई बानी परिसक्यो। यसले हाम्रा खेलाडीलाई बलियो बनाउँछ न की दबाव। दर्शक, हो हल्लामा हामी मज्जाले रमाउँछौँ।”

कुन खेलाडीको कस्तो छ तथ्याङ्क
भारत र पाकिस्तानका खेलाडीहरूको केही रोचक तथ्याङ्क हेरौँ।

सन् २०२१ पछि रोहित शर्मा १३ इनिङमा पाँच पटक बायाँ हाते तेज गतिका बलरबाट ‘पावर प्ले’ मा आउट भएका छन्। त्यसो हुँदा रोहित शर्मा विरुद्ध पाकिस्तानका शाहिन अफ्रिदीको भिडन्त आजको रोचक पक्ष हुनेछ। ‘पावर प्ले’ मा भारतको गत वर्षको बलिङ स्ट्राइक रेट ३२.५ छ, जुन अरू सबै राष्ट्रको भन्दा राम्रो हो। त्यसमा मोहम्मद सिराजले सबैभन्दा बढी ३२ विकेट लिएका छन्।

इमाम उल हकको पछिल्लो ६७ इनिङ्समा उनले ३,००० रन बनाएका छन्, जुन हासिम अमला पछिको एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो सर्वाधिक रन हो। त्यसमा उनी पछिल्लो सात इनिङ्समा पाँच पटक शर्ट पिच बलिङबाट आउट भएका छन्। बाबर आजमले नेपालसँगको एशिया कपमा १५० रन बनाएपछि खासै रन जोड्न सकेका छैनन्। पछिल्लो ५ इनिङ्समा उनले जम्मा ७१ रन मात्र जोड्न सकेका छन्।

भारतीय टोली: रोहित शर्मा (कप्तान), इशान किशन/ शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, केएल राहुल(विकेट किपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमरा, कुलदिप यादव, मोहम्मद सिराज

पाकिस्तान टोली: अब्दुल्लाह शफिक, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेट किपर), साउद साकिल, इफ्तिखर अहमद, शादव खान, मोहम्मद नवाज, शाहिन अफ्रिदी, हसन अलि/ मोहम्मद वासिम, हरिश राउफ

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement