सिङताम बाढ़ प्रभावित क्षेत्रमा एसकेएमको श्रमदान

IMG-20231014-WA0000.jpg

गान्तोक: गत ४ अक्टोबरमा आएको विनाशकारी वाड़ले प्रभावित सिक्किम अहिले पुनर्निर्माण हुने क्रममा छ। यो समय प्रार्थना गर्ने ओंठहरू भन्दा सेवा गर्ने हातहरू महान भन्ने भनाई युक्तिसंगत देखिरहेको छ। विभिन्न संघ संस्था अनि व्यक्ति विशेषहरूले प्रभावित क्षेत्रहरूमा पुगेर श्रमदान दिने क्रम जारी रहेको छ। यसै क्रममा आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका नेतृत्व अनि कार्यकर्ताहरू पनि सिङ्तामको लाल बजार परिसरमा श्रमदान गरे। मन्त्री भीमहाङ लिम्बूको नेतृत्वमा रहेको एसकेएमको विशेष टोलीले आज दिनभरि नै सिङ्तामका प्रभावित घरहरूबाट बालुवा अनि लेदो निकाल्ने कार्य गरे। उक्त टोलीमा मन्त्री भीमहाङ लिम्बू, मन्त्री एमएन शेर्पा, सिक्किम विधानसभा अध्यक्ष एवं एसकेएम पार्टीका सेक्रेटेरी जेनरल अरुण उप्रेती, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सांसद इन्द्रहाङ सुब्बा, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, आईपीआर विभागका सल्लाहकार वीरेन्द्र तामलिङ, आईटी विभागका अध्यक्ष नवराज गुरुङ, च्याखुङ सुम्बुङका वार्ड पञ्चायत अनि वार्डका अन्य ३० जना स्वयं सेवकहरू लगायत सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सोशल मीडियाका कार्यकर्ताहरू श्रमदान कार्यमा सामेल रहेका थिए। आज उपस्थित सबैले बिहानदेखि खटेर सिङ्ताम लाल बजारमा श्रमदान गरे भने यसरी सत्तारूढ़ दलका शीर्ष नेतृत्वहरू बिहानैदेखि गम्बुट लगाएर बेल्चा हानिरहेको देखेपछि सम्बन्धित निकायका कर्मचारीहरू अनि स्थानीयहरूले पनि ऊर्जा पाएको देखियो। उनीहरूले गम्बुट मात्र लगाएनन् शरीरबाट सक्दो पसिना बगाउँदै श्रमदान गरे। संकटको घड़ीमा मानवताको नाता सबैभन्दा बलियो हुन्छ भन्ने उनीहरूले प्रष्ट सन्देश दिएको देखियो। यो श्रमदान मात्र होइन पीड़ितहरूको जीवन पुनः सामान्य फर्काइल्याउन दिइएको मानवताको परिचयको भन्ने उनीहरूको भनाइ रहेको थियो। श्रमदानसँगै उनीहरूले बाढ़पीड़ित परिवारका सदस्यहरूसँग पनि भेट गरेर यो भवितव्यले विचल्नी बनाएको स्थितिबाट चाँड़ै माथि उठेर पुननिर्माण हुने प्रेरणा दिँदै विश्वास दिलाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement