सिलगढी: भारत–नेपाल सीमाको खोरीबारी ब्लकको पानीट्यांकीमा बिहीबार राति एक चिनियाँ नागरिक र दुई नेपाली नागरिक पक्राउ परेका छन्। खोरीबारी पुलिस स्रोत अनुसार पक्राउ परेका चिनियाँ नागरिकको नाम लि सियाओकाङ (५४) हो, जो चीनको जियाङ्सी प्रान्तका हुन्। सञ्जीव सुवाल (३४), चित्रा गुप्ता अधिकारी (३०) नेपालकै रहेको बताइएको छ। पुलिसका अनुसार बिहीबार नेपाली नम्बर प्लेट भएको गाडीमा एक चिनियाँ र दुई नेपाली नागरिक भारत प्रवेश गरेका थिए। तर एसएसबीले सोधपुछका क्रममा चिनियाँ नागरिकले चिनियाँ पासपोर्ट देखाए। स्रोतका अनुसार पासपोर्टको आशंकामा एसएसबीले चिनियाँ नागरिकसहित तीन जनालाई खोरीबारी पुलिसको जिम्मा लगाएको थियो। पक्राउ परेका चिनियाँ नागरिकको पासपोर्टमा नेपाली भिसा रहेको बताइएको छ। धेरै चिनियाँ परिचयपत्र पनि फेला परेका छन्। दुई नेपाली मध्ये एक जना दोभाषे र अर्का चालक छन्। चिनियाँ नागरिक पेसाले विद्युतीय इन्जिनियर हुन्। यी तीनैजना भारत किन आएका कारण भने खुल्न सकेको छैन। शुक्रबार पक्राउ परेका तीनै जनालाई सिलगढी अदालतमा पठाइएको छ।









