गान्तोक: सिक्किम सरकारद्वारा सञ्चालित मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजनामा उत्तर सिक्किमको लाचेन, लाचुङ र चुङथाङका लागि छुट्टै पाँच सीट आरक्षण गरिएको छ। यसका लागि राज्यको शिक्षा विभागले बिहिवार एउटा अधिसूचना जारी गरेको छ जसअनुसार आरक्षण २०२४ को शैक्षिक सत्रदेखि लागू हुनेछ।
गत केही दिनअघि जनतासँगको सोझो सम्पर्कको क्रममा उत्तर सिक्किम पुगेका मुख्यमन्त्री पीएस तामाङले मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजनामा लाचेन, लाचुङ र चुङथाङलाई पाँच सीटको अलग आरक्षण दिने घोषणा गरेका थिए। यसै आधारमा शिक्षा विभागले जारी गरेको अधिसूचना अनुसार पाँच सीट मध्ये एक-एकवटा सीट लाचेन, लाचुङ र चुङथाङका विद्यार्थीको लागि आरक्षित रहनेछ भने दुई सीट यी तीनस्थानबाट अब्बल दर्जामा चुनिएका विद्यार्थीलाई दिइनेछ।
जानकारी गारइन्छ, मुख्यमन्त्री मेधावी छात्रावृत्ति योजनाअन्तर्गत सिक्किम सरकारले कक्षा पाँच उत्तीर्ण गरेका विद्यार्थीका लागि चयन परीक्षा आयोजन गरेर अब्बल दर्जामा आउने ५० जना विद्यार्थीलाई विभिन्न निजी विद्यालयमा सरकारी खर्चमा पढाउने गरेको छ। यस योजनाअन्तर्गत चयनित विद्यार्थीलाई सरकारले कलेज स्तरसम्म सरकारी खर्चमा पढाउने गरेको छ।