खरसाङ: वन विभाग, खरसाङको आयोजनामा खरसाङको गाडीधुरास्थित सार्वजनिक भवनमा चिया बगानमा मानव वन्य जन्तु द्वन्द्व न्युनीकरण योजना २०२३-२४ को कार्यान्वयन सम्बन्धी उद्घाटन कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा मुख्य अतिथिको रूपमा उज्ज्वल घोष, आइएफएस एडिसनल, पीसीसीएफ नर्थ बंगाल उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा खरसाङ डीएफओ डाक्टर हरिकिशन पीजे, आनन्द घोष, सभापति नक्सलबारी पञ्चायत समिति, किषभी मोहन सिंह,एसएमपी, कल्पना प्रधान , सभासद पंखाबारी-लङ्भ्यू-अम्बटे समष्टि, जीटीए, सुमित घोष, सचिव टी एसोसिएशन अफ इण्डिया, नर्थ बंगाल शाखा, कैलाश खवास ,सभापति मिरिक ग्राम पञ्चायत समिति लगायत विभिन्न ग्राम पञ्चायतका प्रधान, उपप्रधान लगायत सदस्यहरू, विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। एडीएफओ दिपेन तामाङ, हेड क्वाटर, खरसाङ सब डिभिजनद्वारा सञ्चालित कार्यक्रममा उपस्थित वक्ताहरूले चिया बगानहरूमा हुने मानव अनि वन्यजन्तुहरू माझको द्वन्द्वलाई रोक्न औ यसको न्यूनीकरण विषय आवश्यक विचारहरू राखे। तिनीहरूले वन्यजन्तुहरूबाट हुने धनजनको नोक्सानी तथा यसबाट बाँच्ने उपायहरूको बारेमा पनि जानकारी दिए। तिनीहरूले राज्य सरकारको विशेष पहलमा चिया बगान क्षेत्रलाई पनि समेटेर त्यहाँ हुने वन्यजन्तु अनि मानव द्वन्द्वबारे सचेतना जगाउँदै कार्यक्रम गरिएको यस प्रकारको कार्यक्रमको असल तरिकाले शुरूआत यहाँबाट गरिएको जनाए। कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उज्ज्वल घोष, आइएफएस एडिसनल, पीसीसीएफ नर्थ बंगालले वर्तमान समयमा हात्तीको संख्या दिनप्रतिदिन बढिरहेको जनाउँदै हात्ती तथा अन्य वन्यजन्तुहरूबाट मानव जातिलाई हुने नोक्सानी केवल वन्य क्षेत्रमा मात्र होइन तर चिया बगान क्षेत्रमा पनि हुने गरेको जानकारी दिँदै मानव अनि वन्यजन्तु माझ हुने द्वन्द्व पनि बढिरहेको बताए। तिनले मानव एवम् वन्यजन्तु माझ हुने द्वन्द्वलाई हामी सबैले मिलेर न्यूनीकरण गर्नुपर्ने जनाए। तिनले चिया बगानसँग मिलेर वन विभागले उनीहरूबाट प्राप्त सहयोगलाई सटीक कार्यमा एवम् वन्यजन्तुहरूबाट हुने नोक्सानी अनि बचाउको निम्ति कार्य गर्न यस प्रकारको कार्यक्रम गरिएको जनाए। दिपेन तामाङ, हेड क्वाटर, खरसाङ सब डिभिजनले खरसाङ सबडिभिजन अन्तर्गत तराई क्षेत्रका चिया बगान क्षेत्रमा विशेषगरी मानव अनि वन्यजन्तुहरू माझ द्वन्द्व धेरै हुने गरेको जनाउँदै विशेषगरी नक्सलबारी, गाडीधुरा, बाहुनी पोखरी, सिमलबारी आदि क्षेत्र हात्तीको करिडरनै रहेको अवगत गराए औ यसबाट यहाँ धेरै असुविधा हुने गरेको बताए।

तिनले यो करिडोरभित्र केही चिया बगानहरू पनि पर्ने गरेको जनाउँदै चिया बगानले बगानभित्रको सेट ट्रीको फिलिङ गर्ने रकम जो चियाबारीका श्रमिकहरुलाई दिनुपर्ने हुन्छ त्यसबाट केही रकम मानव -वन्यजन्तुहरू माझको द्वन्द्वलाई रोक्ने दिशामा काम लगाउन प्रयोग गरिने योजना गरेकै फलस्वरुप आज ती चियाबारीहरूमा उनीहरूकै सहयोगलाई लिएर वन विभागले यस प्रकारको कार्यक्रम गरिएको जनाए। तिनले आज यस कार्यक्रमको शुरूआत गरेको जनाउँदै अब यस प्रकारको कार्यक्रम विशेषगरी अन्य तराई क्षेत्रका चियाबारीहरूमा पनि गरिने जानकारी दिए। आजको यस कार्यक्रममा ग्लो वीथ फरेष्ट सन्यासीस्थानमा दशवटा, सिमलबारीमा तेइसवटा, जयन्तीटिकामा बीसवटा अनि मोतीधरमा चालिसवटा वितरण गरियो भने वन्यजन्तुहरूबाट बाँच्न टर्च लाइट, सानो माइक, पटेका आदि पनि वितरण गरियो।