गान्तोक: सिक्किमका बाढी प्रभावित क्षेत्रहरूमा फसेका ३,९०० मजदुर र प्रवासी कामदारहरूलाई उद्धार गरेर सिलगढीसम्म निःशुल्क रूपमा पुऱ्याउने काम गरिएको छ। उक्त जानकारी श्रम विभागको आज बसेको एक बैठकमा गराइयो।
विभागीय मन्त्री एलएल शर्माको अध्यक्षतामा बसेको बैठकमा सचिव डा. पी. सेन्थिल कुमारलगायत अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
वर्तमान प्राकृतिक आपदालाई ध्यानमा राख्दै श्रम विभागले आगामी १५ अक्टोबरका दिन राजधानीको चिन्तन भवनमा एक जागरूकता कार्यक्रम आयोजन गर्ने निर्णय लिएको छ। उक्त कार्यक्रममा बाढी प्रभावित क्षेत्रमा काम गर्ने मजदुरहरूलाई वित्तीय सहायता प्रदान गरिने बताइएको छ। उक्त दिनको कार्यक्रम गान्तोक र मंगन जिल्लाका मजदुरहरूको निम्ति रहेको छ। अन्य जिल्लाहरूका लागि १७, १८ र १९ अक्टोबरमा कार्यक्रम गरिने छन्।
मन्त्री शर्माले पञ्जीकृत मजदुरहरूको सूची तयार गर्न निर्देश दिॅंदै मुख्यमन्त्रीको मार्गदर्शनमा विभागले प्रत्येक मजदुरलाई वित्तीय सहायता प्रदान गर्ने बताए।