नाम्ची: जिल्ला आपदा प्रबन्धन प्राधिकरणको आपदा विषयमाथि एक सभा नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा नाम्ची जिल्लाका अतिरिक्त जिल्लापाल अनन्त जैन, वरिष्ठ पुलिस अधिकारी डा. छिरिङ नामग्याल ग्याछो लगायत विभिन्न विभागका प्रमुखहरूले पनि अंशग्रहण गरेका थिए।
यस सभामा जिल्लापालले प्रभावित क्षेत्रमा भइरहेका विभिन्न राहत तथा उद्धार कार्यबारे जानकारी लिए। उनले प्रभावित परिवारको घरभित्र पसेको बालुवा आदि हटाउनु पर्ने यस कार्यको प्रगतिबारे अवलोकन गरे। जिल्लापालले प्रकृतिक आपदाबाट क्षति भएका भवन र घरहरुको पहिचान गरी मूल्याङ्कन गर्न अधिकारीहरुलाई आग्रह गरे।
उनले पीडित परिवारलाई मुख्यमन्त्री राहत कोष अन्तर्गतको सहयोग राशि प्रदान गरिने पनि जानकारी गराए। यसका साथै जिल्लापालले प्रकृतिक प्रकोपको कारण क्षति भएका पुस्तक, अध्ययन सामग्री र पोशाकको तथ्याङ्क सङ्कलन गरी विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई यथाशीघ्र वितरण गर्ने व्यवस्था मिलाउन शिक्षा विभागका अधिकारीहरूलाई सुझाउ दिए।