कालचिनीः रेलवे प्रोटेक्शन फोर्स (आरपीएफ) हाँसीमाराको आयोजनामा बिहीबार अपरान्ह समय साताली र डिमा चियाबारीको सेक्सनमा पत्ती टिप्दै गरेका महिला श्रमिकहरूलाई समेटेर सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी आरपीएफ निरीक्षक हाँसीमारा पोस्टका सुदीप्ता दासगुप्ताले दिएकी छन्।
आरपीएफ अलिपुरद्वार डिभिजन अधीनस्थ हाँसीमारा पोस्टले गत ९ अक्टोबरको दिनदेखि बाल विवाहमुक्त भारत अभियान अन्तर्गत बाल तस्करी र बाल विवाहलाई रोक्न जागरुकता थालेको थियो भने यो अभियान आगामी १६ अक्टोबरसम्म एक सप्ताहव्यापी रहेको आरपीएफ सुत्रले जनाएका छन्। बिहीबार यसै क्रममा आरपीएफ हाँसीमारा पोस्टले साताली र डिमा चियाबारीमा पुगेर मेलापातमा लागेका महिला श्रमिकहरूलाई बाल विवाह र बाल तस्करी सम्बन्धित विषयमा सचेतना गराएको थियो। सो अवसरमा आरपीएफ हाँसीमारा पोस्टका निरीक्षक सुदीप्ता दासगुप्ताले महिला श्रमिकहरूलाई आफ्नो हुर्किन्दै गरेका बच्चाहरूलाई बाहिर नपठाउने र बाल विवाह गर्नु अपराध भएकोले अभिभावकहरू सचेत रहनु पर्ने आह्वान गरेकी थिईन्।