जलपाईगढ़ी। सिक्किममा आएको भीषण बाढ़का कारण सिक्किमबाट जलपाईगढ़ी हुँदै बंगलादेश जाने टिस्टा नदीको तटीय क्षेत्र ठूलो क्षतिमा परेको छ। टिस्टा किनारमा बसोबास गर्ने ठूलो जनसंख्याको आयको मुख्य स्रोत कृषि हो। तर बाढ़का कारण भएको यस विनाशमा टिस्टाका हजारौं जनता मात्र नभई असम, बर्द्धवान, कलकत्ता, मालदा, सुन्दरबम जस्ता विभिन्न क्षेत्रका अप्रवासी कामदारहरू पनि ती क्षेत्रमा काम गरिरहेका छन्। उनीहरुले ठूलो नोक्सानी बेहोरेका छन्। टिस्टामा आएको बाढ़का कारण बालीनालीमा ठूलो क्षति हुँदा यी सबै क्षेत्रका सर्वसाधारण समस्यामा परेका छन्। जलपाईगढ़ी जिल्लामा टिस्टाको बाढ़बाट प्रभावित मेखलीगञ्जको टाकिमारी, बसुनियापारा, रंगधमाली, मौमारी, बासुसुबा, नाथुवाचार, नन्दनपुर बौआमारी, हल्दीबारी, ४० निजतराफ, फकटचर क्षेत्रहरू पर्छन्। यी क्षेत्रका बासिन्दालाई राहत शिविरमा राखिएको छ। चरका बासिन्दाहरू धेरै राहत शिविरबाट बाहिरिएका छन् र केही बासिन्दाहरु खतराका कारण राहत शिविरमा छन्। यहाँका जनतामा निराशा छाएको छ।टिस्टाको पानीले धानलगायत सबै बाली बगाएको छ भने यसले व्यापक क्षति पुऱ्याएको छ। यसले निकट भविष्यमा टिस्टा तटीय क्षेत्रका बासिन्दालाई ठूलो समस्या पर्ने अनुमान लगाईएको छ। अर्कोतर्फ, तृणमूल र भाजपाबीच मजदुरको अवस्था र सरकारको क्षतिपूर्ति दायित्वलाई लिएर घमासान युद्ध सुरु भएको छ। तृणमूल नेता कृष्ण दासले भने, ‘किसानहरूको अवस्था मुख्यमन्त्रीसमक्ष राखिनेछ। तर प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अगाड़ी आएर सहयोग गर्नुपर्छ।

अर्कोतिर जलपाईगढ़ी लोकसभा क्षेत्रका सांसद डाक्टर जयन्त कुमार रायले गरिब किसानहरूले सहयोग पाउनु पर्छ भन्नेतर्फ नै आफूहरु रहेको र यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउन लागेको तर राज्यको प्राथमिक कर्तव्य किसानको साथमा उभिनु रहेको जनाएका छन्। शुक्रबार कृषि विभागका प्रमुख सचिव ओमकार सिंह मीनाले प्रभावित क्षेत्रको भ्रमण गरेका थिए भने उनले प्रशासनबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।