गान्तोक। राज्य कृषि, बागवानी तथा पशुपालन एवं पशु चिकित्सा सेवा विभाग मन्त्री लोकनाथ शर्माले हालैमा सम्पन्न आफ्नो अमेरिका भ्रमणबारे पत्रकारहरूलाई सम्बोधन गरेका छन्। मन्त्री शर्माले अमेरिका भ्रमण सिक्किमको निम्ति साँच्चै फलदायी रहेको बताउॅंदै यस भ्रमणपछि सिक्किमका किसानहरूले आफ्ना जैविक उत्पादहरू अमेरिकाको बजारमा बिक्री गर्न धेरै अवसरहरू खोलिएर जाने बताए।
यस अध्ययन एवं व्यापार भ्रमणको निम्ति अवसर प्रदान गरेकोमा उनले मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे। उनले राज्यको कृषि क्षेत्रलाई सुदृढ़ बनाउन र राज्यका किसानहरूलाई आर्थिकरूपमा आत्मनिर्भर एवं समृद्ध बनाउन विविध विषयहरूमा अनुभव बटुल्ने अवसर पाएको बताए।

मन्त्रीले कृषिमा धेरै सम्भावना भएका राज्यहरूको भ्रमण गरेको तथा निवेशकहरू, व्यापारीहरू, अधिकारीहरू र प्रगतिशील किसानहरूसॅंग भेट गरेको पनि जानकारी दिए। भ्रमण प्रतिनिधिमण्डलले अमेरिकामा जैविक उत्पादनहरुको मार्केटिङको लागी सम्भावित साझेदारहरुबाट अविश्वसनीय प्रतिक्रिया र बलियो आश्वासन पाएको पनि उनले जानकारी गराए। अर्कोतिर, उनले सिक्किम समक्ष आत्मनिर्भरताका लागि अतिरिक्त उत्पादन गर्नु र निर्यात गर्नु प्रमुख चुनौती रहेको छ भनी बताए।
मन्त्री शर्माले अमेरिकाको बजारमा हर्दी, बॉंसको टुसा, गुन्द्रुक, किनेमा, अलैंची, मासु र साग-सब्जी जस्ता जैविक उत्पादहरूको धेरै माग रहेको बताए। उनले राज्यका कृषकहरूलाई अझ धेरै परिश्रम गर्न र आफ्नो उत्पादनलाई बढ़ाउन आह्वान गरे ताकि वैश्विक बजारको बढ्दो मागलाई पूरा गर्न सकियोस्।
यस अतिरिक्त मन्त्री शर्माले एनओपी प्रमाणपत्रको निम्ति आवश्यक आधिकारिक औपचारिकताहरू पूरा गरिएको जानकारी दिए। उनले निकट भविष्यमा भ्रमण टोलीले सिक्किमको भ्रमण गर्ने बताए।