कालेबुङका पत्रकारहरूमाथि भएको घटनाको जेयूएस र पीसीएसद्वारा घोर भत्सर्ना

IMG-20231012-WA0000.jpg

गान्तोक: गत १० अक्टोबर काे दिन कालेबुङका पत्रकार तथा खबर म्यागजीनका सम्पादक मनोज बोगटी र केटीभीका संवाददाता उमेश परियारमाथि भएको कुटपीटको घटनालाई प्रेस क्लब अफ् सिक्किम र जर्नलिस्ट युनियन अफ् सिक्किमले घोर भर्त्सना साथै कड़ा निन्दा गरेको छ।

यस घटनालाई लिएर आज ११ अक्टोबरको दिन गान्तोकमा जर्नलिस्ट युनियन र प्रेस क्लबको संयुक्त बैठक बस्यो। बैठकमा दुवै संस्थाका सदस्यहरूद्वारा यस घटनामाथि गम्भीर विचार-विमर्श गरियो। बैठकपछि दुवै संस्थाले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेको छ।

हिजो कालेबुङ जिल्लाअन्तर्गत गेलखोलामा केही असामाजिक तत्त्वहरूद्वारा दुई पत्रकारमाथि भएको कुटपीटको घटनालाई संज्ञानमा लिएर प्रशासनले दोषीविरुद्ध कडा कारबाही गर्नुपर्ने दुवै संस्थाले माग गरेको छ। पत्रकारमाथि यसरी कुटपीट गर्नु भनेको अभिव्यक्तिको स्वतन्त्रतालाई दमन गर्नु र लोकतन्त्रको हत्या गर्नु हो भनी विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्थानीय प्रशासनले भविष्यमा यस प्रकारको हिंसा हुन नदिन उचित पहल गर्नुपर्छ अनि पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ भन्ने युनियन र क्लबले माग गरेको छ। यसघडी सिक्किमको पत्रकार जगत कालेबुङका पत्रकारहरूको साथमा खडा रहेको उल्लेख गर्दै ऐक्यबद्धता जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement