नयाँ दिल्लीः केन्द्रिय सूचना एवं प्रसारणमन्त्री अनुराग ठाकुरले बुधवार ‘कृष, ट्रिश औ बाल्टीबोय (केटीबी) भारत हैं हम’ एनिमेशन श्रृंखला लञ्च गरे। यो श्रृंखला ओझेलमा परेका स्वतन्त्रता सेनानीहरूको कथामाथि केन्द्रित छ। यसलाई आगामी १५ अक्टोबरको दिन पूर्वान्ह ११ बजे दूरदर्शनका सबै च्यानलहरूसितै नेटफ्लिक्स र प्राइम भीडियोमा एकसाथ प्रसारण गरिनेछ। ११ मिनटको यस एनिमेशन कार्यक्रमलाई हिन्दी र अंग्रेजी लगायत १२ भारतीय भाषाहरूमा तथा ७ अन्तरराष्ट्रिय भाषाहरूमा तयार गरिएको छ।
यस अवसरमा केन्द्रियमन्त्री ठाकुरले भने, भारतको स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ओझेलमा परेका नायकहरूको कथा विश्वभरि नै पुऱ्याउनका लागि यसलाई तयार गरिएको छ। यसको उद्देश्य यो पनि रहेको छ, सारा विश्वले रानी अब्बक्का जस्ता हाम्रा ओझेलमा परेका नायकहरूको बारेमा जान्न सकोस्। यस श्रृंखलाको माध्यमबाट भारतको संस्कृति, इतिहास, जीवन र उपलब्धिहरूमाथि प्रकाश पार्ने प्रयास गरिएको छ।
यस श्रृंखलामा लगभग ३० प्रतिशत भूमिका महिलाहरूको रहेको छ। यसले के दर्शाउँछ भने स्वतन्त्रता संग्रामा महिलाहरूको महत्वपूर्ण भूमिका थियो। उनले भने, भारतलाई आगामी वर्ष २०४७ –सम्ममा विकसित राष्ट्र बनाउनु छ। आगामी २५ वर्ष अमृतकालको लागि प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दिइएको मन्त्र पञ्च प्रणसितै उनको नेतृत्वमा भारतले नयाँ उच्चता हासिल गरिरहेको छ। हामीलाई दासताको मानसिकतादेखि माथि उक्लेर आफ्नो गौरवशाली इतिहासको साथमा सुनौलो भविष्य तर्फ अग्रसर हुनुछ। यस अवसरमा केन्द्रिय सूचना एवं प्रसारण सचिव अपूर्व चन्द्राले भने, आज गर्वको दिन हो। सूचना एवं प्रसारण मन्त्रालयको केन्द्रिय सञ्चार ब्यूरोले यस श्रृंखलालाई तयार गरेको छ। इतिहासमा पहिलो पटक भइरहेको यो श्रृंखला च्यानलहरूसितै ओटीटी प्लेटफ्रममा प्रसारण हुनेछ।
-हिस