गान्तोक: ४ अक्टोबरको टिस्टा त्रासदीपछि विभिन्न स्थानमा फसेका श्रमिकहरूलाई सुरक्षित निकालेर घर पठाउने कार्यमा सिक्किम सरकारको श्रम विभागले लगातार काम गरिरहेको छ।
पूर्व र दक्षिण सिक्किममा फसेका श्रमिकहरूलाई केही दिन अघिदेखि नै उनीहरूका घर पठाउन सिलगढीसम्म पुऱ्याउने काम श्रम विभागले गरिरहेको थियो भने चुङथाङ, लाचेन र चुङथाङबाट पनि पैदल मार्ग शुरु भएपछि विभागले उत्तर सिक्किममा फसेका श्रमिकलाई पनि सिलगढीसम्म पुऱ्याउने व्यवस्था मिलाएको छ।
पैदल यात्रा गरेर मगनसम्म आएका श्रमिकलाई श्रम विभागले त्याहाँबाट बस उपलब्ध गराएर सिलगढी पठाइरहेको छ। विभागले कतिपय श्रमिकहरूलाई मगनबाट सिधै सिलगढी पठाइरहेको छ भने सिलगढी पुग्न समय लाग्ने बसलाई गान्तोक ल्याएर एकरात श्रमिकहरूलाई गान्तोकमा विश्राम गराएपछि सिलगढी पठाउने काम पनि भइरहेको छ। यसै क्रममा आज बुधवार गान्तोकबाट लगभग ८० जना श्रमिकलाई लिएर तीनवटा बस सिलगढी प्रस्थान भएका छन्। बसद्वारा यात्रा गराइरहेका श्रमिकहरूलाई विभागले खाने व्यवस्था पनि मिलाइदिएको छ।
आज सिलगडी जानअघि गान्तोकको एसएनटी बस स्ट्याण्डमा भेला भएका श्रमिकहरूसँग सिक्किम सरकारको श्रम विभागका मन्त्री लोकनाथ शर्माले अन्तरक्रिया गरे। यस अवसरमा उनले टिस्टा त्रासदीका कारण घर जान चाहेका श्रमिकहरूसँग कुराकानी गर्दै उनीहरूलाई सिलगढीसम्म पुऱ्याउन सिक्किम सरकारले मिलाएको सुविधाबारे जानकारी गराए। मन्त्री शर्माले अहिले सिक्किमको स्थिति बेहाल रहेकाले घर जान चाहेका श्रमिकहरूलाई सरकारले सुविधा दिलाइदिएको जानकारी दिँदै पछि स्थिति सामान्य बनेपछि उनीहरूले चाहे फेरि सिक्किम आउनसक्ने बताए।
घर जानका लागि एसएनटीमा भेला भएका श्रमिकहरूले आफूले काम गरिरहेका क्षेत्रमा टिस्टा त्रासदीले व्यापक क्षति पुऱ्याएको र परिवारका सदस्य पनि सुर्तामा रहेका कारण अहिले घर जान चाहेको र पछि मौका मिले फेरि सिक्किम आउने बताएका छन्। यस आपदको घडीमा आफूहरू घर जान चाहेको स्थितिमा सिक्किम सरकारले सिलगढीसम्म सुरक्षित पुऱ्याउने व्यवस्था मिलाइदिएको भन्दै श्रमिकहरूले सरकारप्रति आभार व्यक्त गरे।