कालचिनीः चाडबाडको समय छ चियाकमानको गाउँ बस्तीहरूमा अहिले चाड मनाउन मानिसहरू उत्सुक पनि देखिएको छ।
तर बोनस कति पाउने भन्ने चिन्ताले चिया श्रमिकहरूलाई सताईपनि रहेका छन्। चाडबाडको ठीक यही समयमा नै गाउँघर र सहर बजारहरूमा एकाध लूटपाट र चोरी छिन्ताई जस्तो घटना पनि हुने गर्छन्। यस्तो समयमा कसैको घर र दोकान फोरिने कसैको छिन्ताई र लूटपाट हुने घटनाहरू भईरहेको सुनिन्छन्। यस्तै घटनाक्रमबीच कालचिनी थाना अन्तर्गत पर्ने भाटपाड़ा चियाबारीको मुन्डा लाईनस्थित एउटा चर्चमा अज्ञात चोरहरूले लूटपाट गरेको घटना प्रकासमा आएको छ। भाटपाड़ा चियाबारी स्थित मर्सी प्रेयर चर्चमा मंगलबार राती केही अज्ञात चोर समूहले मूल दैलोको ताल्चा भत्काएर चर्चभित्र राखिएको गिटार बाद्ययन्त्र लगायत अन्य केही महत्वपूर्ण सामग्रीहरू सोहोरसार पारेर लगेको सो चर्चको मूल पास्टर प्रकास शर्माले जनाएका छन्।
बिहान मात्र चर्चको सरसफाई गर्न जाँदा चर्चको दैलोको ताला भत्किएको अवस्थामा देखिएको र दैलो खोलेर हेर्दा चर्चको दराज अस्तव्यस्त देखिएको र वाद्ययन्त्रमा एउटा गिटार नै गायब भेटाईएको पास्टर प्रकास शर्माले बताए। घटना सम्बन्धमा तिनले यसको लिखित प्राथमिकी कालचिनी थानामा दिएको र पुलिस समक्ष घटनाको जाँच गरिदिने निवेदन गरिएको बताएका छन्।
शान्ति र सद्भावना अनि प्रेम सन्देशमा विश्वास राख्ने चर्च जस्तो पवित्र स्थलमा पसेर चोरी गर्ने व्यक्ति वा समूहलाई कानुनले दन्ड दिनुपर्ने दाबी सो चर्च कमिटीका सदस्यहरू मोना दर्जी, अजय गोसाई र कविता शर्माले माग गरेका छन्।