गान्तोक: भारत सरकारको गृह मामिला मन्त्रालयका संयुक्त सचिव अनन्त किशोर शरणको अगुवाईमा आएको अन्तर मन्त्रालय केन्द्रिय टोली (आईएमसीटी) ले आफ्नो दुई दिवसीय सिक्किम भ्रमण पूरा गरेको छ।
आईएमसीटी सिक्किममा टिस्टा नदीको बाढीले पुऱ्याएको क्षतिको आकलन गर्न भ्रमणमा आएको थियो।
राज्यका मुख्य सचिव वीबी पाठक र राज्य सरकारका वरिष्ठ अधिकारीले गत ९ अक्टोबरको दिन आईएमसीटी टोलीलाई बाढीले पुऱ्याएको क्षतिको बारेमा जानकारी गराएपछि टोलीले पूर्व सिक्किममा बाढी प्रभावित क्षेत्रहरू रम्फू, सिङताम र डिक्चुको स्थलगत निरीक्षण गरेर स्थितिको जायजा लिएको थियो।
यसैगरी, आईएमसीटी टोलीले हिजो, १० अक्टोबरका दिन उत्तर सिक्किममा प्रभावित क्षेत्रहरूको हवाई अनि स्थलगत निरीक्षण गऱ्यो।
आईएमसीटी टोलीले स्थलगत निरीक्षण अवधि राज्यका सम्बन्धित प्राधिकरणहरूसॅंग अन्तरक्रिया र आफ्नो आकलनको आधारमा भारत सरकारलाई आर्थिक सहायता र तत्काल अस्थायी पुनर्स्थापनाको निम्ति सिफारिसहरू सुझाउ गर्नेछ। सोही आधारमा केन्द्र सरकारले सिक्किमलाई समर्थन गर्ने बताइएको छ।
आफ्नो कार्य पूरा गरेर केन्द्रिय टोली बुधवार बिहान दिल्ली प्रस्थान भएको छ।