गान्तोक: टिस्टा ताण्डवले विच्छिन्न बनेका क्षेत्रहरूको यातायात सम्पर्क सुचारू गर्न तत्काल बेली सस्पेन्सन ब्रिज निर्माण गरिने भएको छ। यसको निम्ति हिजो भारत सरकारका क्याबिनेट सचिवको अध्यक्षतामा आयोजित राष्ट्रिय संकट प्रबन्धन समितिको बैठकमा राज्यका मुख्य सचिव भीबी पाठकले सहभागिता जनाएका थिए। उनीसँगै यस बैठकमा राज्य सरकार, सेना अनि वायु सेनाका वरिष्ठ अधिकारीहरू सामेल रहेका थिए। सबैभन्दा अधिक प्रभावित क्षेत्रहरूमा सस्पेन्शन बेली ब्रिज निर्माणको निम्ति ठाउँ चिह्नित गर्दै अन्तिम रूप दिनको निम्ति एक समन्वय समितिको गठन गरिएको छ। यस समितिमा सीमा सड़क संगठनका वरिष्ठ अधिकारीहरू अनि सड़क तथा पूल विभाग, ग्रामीण विकास विभागका वरिष्ठ अभियन्ताहरू सामेल रहेका छन्। यस टोलीले विच्छिन्न क्षेत्रहरूलाई जोड़्नको निम्ति सस्पेन्शन बेली ब्रिज निर्माणको निम्ति उपयुक्त स्थानहरूको निरीक्षण कार्य तत्काल शुरु गर्न अनि १२ अक्टोबरसम्म रिपोर्ट सुम्पिने जिम्मेवारी दिइएको छ। बेली सस्पेन्शन ब्रिज निर्माण गरी विच्छिन्न बनेको क्षेत्रलाई जोड़्ने कार्य गर्ने भएको छ।
मोठ ९ वटा स्थानमा तत्काल बेली सस्पेन्सन ब्रिज निर्माण गरी विच्छिन्न स्थानलाई जोड़्ने निर्णय लिइएको छ, जसमा सिङताम बजारलाई आदर्श गाउँसँगै नाम्ची जिल्लालाई जोड़्ने एउटा पूल टिस्टा नदीमा बनाइनेछ भने तनकमा माखालाई याङगाङ, लिङ्गी अनि वरिपरिका क्षेत्रलाई जोड़्न टिस्टा नदीमा पूल बनाइनेछ। सोही प्रकारले मंगन जिल्लाको तल्लो जङ्गु फिदाङलाई जोड़्ने पूल टिस्टा नदीमा बनाइने भने अप्पर जङ्गुलाई जोड़्न साङकालाङमा टिस्टा नदीमा पूला बनाइनेछ। यसरी नै पेग्योङ चुङथाङलाई लाचेन अनि लाचुङसँग जोड़्ने टिस्टा नदीमा पूल बनाइनेछ भने ६ माइल जङ्गुमा कानाका नदीमाथि पूल बनाइनेछ। नवटार लोवर राङ्टुदेखि राङटुटार, लोवर मङ्गलीलाई गान्तोक जिल्लासँग जोड़्न टिस्टा नदीमाथि पूल, लोवर सामदोङ बजारदेखि लोवर पाकिमलाई जोड़्न टिस्टा नदीमाथि पूल अनि टुङमा टिस्टा नदीमाथि पूल निर्माण कार्य गरिनेछ।
राज्य राहत आयुक्त एवं भू-राजस्व अनि आपदा प्रबन्धन विभागका सचिवद्वारा आज यस आशयको एक आदेश जारी गरेका छन्।