टिस्टा नव-निर्माणको कार्य शुरू

IMG-20231010-WA0189.jpg

टिस्टावासीको मनोबल टुट्नु हुँदैन: अनित थापा

टिस्टा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका चिफ् अनित थापा केही दिनदेखि टिस्टामा डेरा हालेर त्यहाँको पुनर्स्थापनाको कार्यको देखभाल गरिरहेका छन्। उनले बाढी पीढीत परिवारहरूलाई दैनिक रूपमा भेट्ने गर्दैछन्। राहत शिविरमा गएर पीडितसँग बस्दैछन्। आज थापाले रम्फु अनि गेल खोलाको निरीक्षण गरेका थिए। बाढ़ीले बिगारेको घर अनि बाटोको सफाई कार्य शुरु भएको छ। उनले यसै सिलसिलामा भने, “टिस्टावासीले धेरै कुरा गुमाएको छ। तर उहाँहरुको मनोबल नहराओस् भन्ने मेरो चाहना छ। यहाँ राहत अनि पुनर्स्थापनाको कार्यहरू भै रहेको छ। हाम्रो कार्य अनि उपस्थितिले उहाँहरूमा आत्मविश्वास बढेको देख्दैछु। उहाँहरुको मनोबल बढेर गएको देख्दैछु।”
धेरैको आफ्नै घर छ। तर घरभित्र मैला, बालुवा पसेको छ। ती सबै सफा गर्ने कार्य अहिले भईरहेको छ। उनीहरूलाई आफ्नै घरमा चाँडो भन्दा चाँडो फर्काई ल्याउने प्रयत्न छ हाम्रो। आफ्नो घरमा पस्नु अनि बस्नु पाउँदा उहाँहरुको अनुहारमा खुशी अवश्य झल्किने छ। तर यो प्रक्रिया लामो छ। टिस्टा, रम्फु सबै ठाउँमा यही स्थिति रहेको अनित थापाले बताए। आपदा व्यवस्थापन तीन चरणको रणनीति लिएर कार्य भईरहेको बताउँदै थापाले भने, “पहिलो चरणमा हामीले पीडितहरुलाई राहत दिलाउने काम गर्यौ। जस्तै उनीहरूलाई सुरक्षित ठाउँमा बस्नु, खानु अनि लगाउनुको प्रबन्ध गर्यौ। दोस्रो चरणमा टिस्टा अनि अन्य आपदा प्रभावित क्षेत्रमा जति पनि मैला अनि फोहोर छ त्यसलाई सफा गर्ने। यो कार्यको थालनी भै सकेको छ। घर हुनेहरूलाई घर वापसी गराउनु रहेको छ। तेस्रो चरणमा विस्थापित भएकाहरुलाई वासस्थानको प्रबन्ध गर्नु पर्छ। त्यसको निम्ति जिल्ला प्रशासनले जमीनको चयन गर्ने प्रक्रिया सुरु गरिसकेको छ।”
उनले टिस्टाको नव निर्माण गरिनुपर्छ। त्यसको निम्ति एउटा संयोजन समिति गठन गरिने बताउँदै भने, “एनएचपीसी, इरकॉन, जिल्ला प्रशासन, पञ्चायतलाई लिएर हामीले एउटा प्रारम्भिक बैठक बसिसकेका छौ। आगामी दिनमा जी टी ए स्तरको बैठक हुनेछ। त्यसपछि हामी टिस्टाको नव निर्माणको निम्ति एउटा संयोजक समिति बनाउनेछौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement