कालचिनीः गत तीन महीना अघि उत्तर सिक्किमको लाचुङमा मजदुरी गर्न गएका ५ जना कालचिनी क्षेत्रका कामगारहरूको परिवारसित कुनै सम्पर्क नभएकोले परिवारका सदस्यहरू चिन्तामा परेका छन्। कालचिनी थाना अन्तर्गत पर्ने पूर्व साताली र लोथाबारी बिस्नाथपाड़ा बस्ती निवासी बाबलु किस्कु, बिरसा मरान्डी, एरबिन उराँव,शिवु किस्कु र बिफा हाँसदा सिक्किम त्रासदीमा फसेकोले परिवारसित आजसम्म कुनै प्रकारको सम्पर्कमा नआएको परिवार सदस्यहरूले जनाएका छन्।
यस सम्बन्धमा मङ्गलबार निखोज ५ जना कामगारहरूको परिवार सदस्यहरूले कालचिनी थानामा आएर यसको निम्ति गुहार लगाएका छन्। यता थाना प्रशासनले पनि निखोजहरूको खोजी लगाउन सम्बन्धित विभागसँग सम्पर्क गर्ने प्रयास चलिरहेको जनाएका छन्। काम र मामको लागि हिमाली राज्यमा काम गर्न गएका यी ५ जना कामगार श्रमिकहरूको अवस्था कस्तो छ, जिउँदो छन् कि मृत केही अतोपतो नलागेपछि परिवार सदस्यहरूमा चिन्ताको लहर छाएको छ। अहिले टिस्टाको जलस्तर घटदै गएकोले खोजी कार्य द्रुतगतिमा चलिरहेको छ भने सिक्किम लगायत कालेबुङ तटीय क्षेत्रमा एवम् यता जलपाईगढ़ी जिल्लाको मैनागढी गजलडोबा एवम् कोचबिहार जिल्लाको टिस्टा तटीय क्षेत्र र बाङ्गलादेश क्षेत्रबाट धेरै शवहरू उद्धार भईरहेको छ।
यस क्रममा सिक्किमबाट फसेका कामगार लगायत पर्यटकहरूलाई सुरक्षित बाहिर निकाल्न सरकार लागिपरेको बेला डुवर्स कालचिनीका यी ५ जना कामगार श्रमिकहरूको भने कुनै सम्पर्क परिवारले नपाउँदा परिवारमा चिन्ता बढ़नु स्वाभाविक देखिएको छ। यस सम्बन्धमा लोथाबारीका आदिवासी समाजसेवी छोटेलाल कुजूरले पहिला बासरा नदीमा ढुङ्गा र बालुवाको काम चलिरहँदा यहाँबाट नै गरीब परिवारले रोजगार चलाइरहेको तर अहिले नदीमा उत्खनन बन्द गरिएकोले बाध्यतावश श्रमिक परिवारहरू काम गर्न बाहिर राज्यमा गएको र यस क्रममा निखोज ५ जना गरीब आदिवासी परिवारले मंगलाबार कालचिनी थानामा गुहार लगाउन आएको जनाएका छन्।