कोचबिहार: भारत-बंगलादेश सीमामा रहेको दिनहाटाको गीतालदाह २ ग्राम पञ्चायत क्षेत्रको मराकुठी क्षेत्रमा बीएसएफले गाउँलेहरूमाथि लाठीचार्ज र अत्याचार गरेको आरोप लागेको छ। केही तस्करहरू सीमा पारी चिनी तस्करी गर्न गएपछि बीएसएफ र तस्करहरूबीच झडप भएको बताइएको छ। बीएसएफले त्यहाँ सेल फालेपछि गाउँलेहरू भेला भए र बीएसएफले क्षेत्रमा अशान्ति फैलाएको आरोप लगाउँदै विरोध प्रदर्शन गर्न थाले। सो क्रममा बीएसएफले निर्दोष गाउँलेलाई लाठीचार्ज गरेको र गाउँका आम जनतामाथि झुटो मुद्दा दर्ता गर्ने प्रयास गरेको आरोप छ। घटनालाई लिएर क्षेत्रमा निकै तनाव उत्पन्न भएको छ। घाइते गाउँलेहरूलाई अस्पताल लैजान एम्बुलेन्स भित्र पस्दा बीएसएफले एम्बुलेन्स रोकेको गाउँलेको गुनासो छ। घटनाको जानकारी पाएर दिनहाटा थानाको पुलिस घटनास्थलमा पुग्ने प्रयास गर्दा बीएसएफले पुलिसलाई रोकेको बताइएको छ । दिनहाटाका एसडीपीओलाई पनि बीएसएफ क्षेत्रमा प्रवेश गर्नबाट रोकिएको बताइएको छ।