१५ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा सोनादाको मुनाल फूटबल क्लबले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय मण्टिभियट खेल मैदानमा शुक्रवार खेलिएको पूल बी-को म्याचमा मुनाल एफसीले सिपाहीधुरा एफसीलाई ९-२-ले पिट्यो। विजेता टीमबाट नयन प्रधान एक्लैले ह्याट्रिकसहित ४ गोल गरे। उनलाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा क्यामरून सेभेन र राजबारी युनाइटेड दार्जीलिङबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच एस.एस.एफ.सी. सालबारी र चाँद एफसी तीनधारेबीच खेलिनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा हुनेछ भने फाइनल २७ जुलाईमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँ अनि रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा संयोजक प्रतीक गुरुङले बताएका छन्।