टिस्टा त्रासादीः मर्नेहरूको संख्या पुग्यो ३६

Screenshot_20231005_221217_Samsung-Internet.jpg

जन-जीवन सामान्य बनाउनमा जुट्यो राज्य

गान्तोक: टिस्टा त्रसादीको ६ दिन बितिसक्दा सिक्किम राज्यमा यसको प्रकोपबाट मर्नेहरूको सङख्या ३६ पुगेको छ जबकि अहिले पनि लगभग ७९ जना मानिस निखोज छन्। राज्य प्रशासन र केन्द्रिय आपदा प्रबन्धन टोलीको दल हिजोदेखि राहत कार्यका लागि सबै प्रभावित स्थानहरूमा पुगिसकेको छ।

सरकारी रिपोर्ट अनुसार टिस्टा त्रसादीमा सिक्किम राज्यभित्र लगभग ९० वटा गाउँ परेका छन् जसबाट कूल ८७ हजार ३०० मानिसहरू प्रभावित बनेका छन्। यस त्रसादीमा परेर आफ्नो घरबार लगायत सम्पूर्ण गुमाएका मानिसहरूका लागि सरकारले विभिन्न स्थानमा २४ वटा राहत शिविर सञ्चालन गरिरहेको छ जसमा ५ हजार भन्दा अधिक मानिसहरूले आश्रय लिएका छन्। टिस्टाको बाढबाट सिक्किममा १७८१ घरलाई क्षति पुगेको छ भने साना-ठूला गरेर १४ वटा पूल बगाएपछि विभिन्न स्थानको सडक सम्पर्क पूर्ण रूपले बाधित छ।

४ अक्टोबरको टिस्टा त्रसादीपछि लगातार प्रतिकूल मौसम रहेकाले उत्तर सिक्किममा राहत एवं बचाउ कार्य सञ्चालन गर्न प्रशासनलाई चार दिनभन्दा अधिक समय लाग्यो जसका कारण अहिले पनि चुङ्थाङ अवस्थित टिस्टा उर्जाको टनलमा फसेका भनिएका मानिसहरूको पत्तो लगाउन सकिएको छैन। उत्तर सिक्किमको लाचुङ, चुङथाङ र लाचेनमा धेरै पर्यटक र वाहनचालक फसेका थिए। पर्यटकहरूलाई फसेका स्थानबाट निकाल्ने काम हिजो सोमवारबाट शुरु भयो।

भारतीय सेनाका हेलिकप्टरद्वारा फसेका मानिसहरूलाई निकाल्ने कार्यको पहिलो दिन आपदमा परेका स्थानीय मानिस र पर्यटक गरेर हिजो ३५० भन्दा धेरै मानिसहरूलाई मंगन, गान्तोक र पाकिम ल्याइएको थियो भने आज पनि फसेकाहरूलाई निकाल्ने कार्य युद्ध गतिमा चलिरहेको छ। हेलिकप्टर मार्फत निकाल्ने कार्यमा पर्यटकहरूलाई प्राथमिकता दिइको छ भने फसेका कतिपय वाहनचालकहरू प्रशासनको अनुमति लिएर केही दिनको पैदल यात्रापाछि गान्तोक लगायत सिक्किमका अन्य गाँउको गन्तब्य स्थानमा पनि आइपुगेका र आइरहेका छन्।

टिस्टाले ल्याएको बिनाशपछि सिक्किमको सिङ्ताम, रम्फू बजार लगायत गोलीटार, आदर्शगाउँ र अन्य प्रभावित स्थानहरूमा सामान्य जीवनतर्फ फर्किने पहल विस्तारै शुरु भएको छ। विभिन्न सङ्गठन, स्वंयसेवी संस्था, राजनैतिक दल र धार्मिक संगठनका सदस्यहरूको सहयोगमा मानिसहरूका पुरिएका घर र लेदो माटोमा डुबेका सर-सामानलाई निकाल्ने काम थालिएको छ। बजारका फराकिला ठाउँमा लेदो र माटो हटाउन जेसीबी लगाइएको छ भने साँगुरा स्थान र घर भित्रबाट मानिसहरूले बेल्चा र फरुवा लगाएर पनि हिलो सोहोर्ने काम गरिरहेका छन्।

कहालिलाग्दो स्थितिबाट बाहिर निस्किन प्रभावित मानिसहरूलाई धेरै समय लाग्ने छ अनि पुरानै स्थितिमा पुग्न लगभग असम्भव देखिए पनि आफ्नो जीवन चक्रलाई अघि बडाउन प्रभावित मानिसहरू पुनर्स्थापनाको कार्यमा जुट्दै गरेको स्थिति छ सिक्किमको।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement