१२ अक्टोबरभित्र सर्वेक्षण रिपोर्ट बुझाउन समिति गठित
गान्तोक: गत ४ अक्टोबरको टिस्टा नदीको बाढीले विभिन्न स्थानका पूल बगाएपछि विस्थापित बनेको सडक सम्पर्कलाई पुनः जोड्ने पहलका क्रममा सरकारले पूल निर्माण गर्नुपर्ने आवश्यक स्थानको सर्वेक्षण कार्य १२ अक्टोबरभित्र पूरा गर्नुपर्ने जिम्मेवारी सम्बन्धित पक्षलाई सुम्पेको छ।
भारत सरकारबाट आएका क्याबिनेट सचिवको अध्यक्षतामा राष्ट्रिय आपदा व्यवस्थापन टोलीको बैठकपछि अति प्रभावित क्षेत्रहरूलाई सडक सम्पर्कबाट जोड्ने कार्यलाई अघि बढाउन एउटा समन्वय समिति गठन गरिएको छ जसले तत्काल राहतका लागि बेली ब्रिज (झोलुङ्गे पुल) निर्माण गर्नुपर्ने स्थानहरूको सर्वेक्षण गरेर रिपोर्ट १२ अक्टोबरभित्र बुझाउने छ। यस कार्यका लागि सर्वेक्षण गर्न सीमा सडक सङ्गठनका वरिष्ठ अधिकारीहरू सहित सिक्किम सरकारको सडक एवं पुल विभाग र ग्राम विकास विभागका वरिष्ठ अधिकारी र अभियन्ताहरू समावेश गरिएका छन्।
टिस्टाको बाढीले पुल बगाएका स्थान मध्ये पूर्व सिक्किमको सिङ्ताम र दक्षिण सिक्किमको आदर्शगाउँलाई जोड्न टिस्टा नदीमाथि बेली ब्रीज निर्माण गरिनेछ। यसरी नै पूर्व सिक्किमको माखा तनकबाट दक्षिण सिक्किमलाई जोड्ने टिस्टा नदीमा तनक पुल, मंगन जिल्लाको १४ माइल र लोअर जङ्गुलाई जोड्ने फिदाङमा पुल, सङ्खलनबाट अप्पर जङ्गुलाई जोड्ने पुल, पेग्योङबाट चुङ्थाङ र लाचेन-लाचुङलाई जोड्ने पुल निर्माण गर्न पनि सर्वेक्षण हुनेछ।
सरकारद्वारा गठित समितिले मगन जिल्लाको ६ माइल जङ्गुमा पर्ने कनका नदीमाथि निर्माण गरिनुपर्ने पुल, पूर्व सिक्किमको नवटार र दक्षिण सिक्किमको लोअर मेङ्ली रङ्तुटारलाई जोड्न टिस्टा नदीमाथिको पुल, पूर्व सिक्किमको लोअर साम्दोङ र दक्षिण सिक्किमको लोअर पायोङलाई जोड्ने पुल र मगन जिल्लाको टुङमा टिस्टा नदीमाथि पुल बनाउने विषयमा सर्वेक्षण गरिनु पर्नेछ। यी सबै स्थानमा पुल निर्माण नभएसम्म सडक सम्पर्क स्थापित हुन सक्ने स्थिति छैन।