नयाँ दिल्ली: कंग्रेसले आरोप लगाएको छ, सिक्किममा आएको प्राकृतिक आपदालाई लिएर केन्द्र सरकार गम्भीर छैन। त्यहाँ राहत अनि बचाउ कार्यमा ढिल्याई गरिरहेको छ।
कंग्रेस सांसद गौरव गोगोईले मंगलवार पार्टी मुख्यालयमा आयोजित एक सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै भने, सिक्किममा आएको प्राकृतिक आपदाको कारणले मानिसहरू समस्याग्रस्त छन्, तर सायद उनीहरूको आवाज मोदी सरकारसम्म पुग्न सकिरहेको छैन।
गोगोईले भने, सिक्किममा प्राकृतिक आपदाबाट लगभग २५००० मानिसहरू प्रभावित भएका छन्। लगभग ७६०० मानिसहरू घर-बारबिहीन भएका छन्। ८० जनाको ज्यान गइसकेको छ र लगभग ३००० पर्यटकहरू फसेका छन्। सिक्किममा लगभग २८ राहत शिविरहरूमा ६८०० मानिसहरू बस्दै आइरहेका छन्। एनएच-१० क्षतिग्रस्त भइसकेको छ भने सेनाका ८ जवानको शव पाइएको छ। त्यहाँ सबैको एउटै प्रश्न छ, आखिर मोदी सरकार सिक्किमको जमीनमा किन सक्रिय छैन?
गोगोईले भने, आज सिक्किमका मानिसहरूले सोधिरहेका छन् कि राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)-को टीमलाई प्रभावित क्षेत्रहरूमा पुग्नको लागि ढिलो किन भइरहेको छ? उत्तर सिक्किममा १४ वटा पुल पूर्णरूपले भत्किसकेका छन्। त्यहाँका मानिसहरू आज अन्धकारमा बाँच्न बाध्य छन्। उत्तर सिक्किमको सीमा पारी चीन बसेको छ जो प्रत्येक दिन जमीन हत्याउन लागिपरेको हुन्छ। तर पनि मोदी सरकारलाई तत्पर देखिँदैन। मोदी सरकारका एकजना वरिष्ठ मन्त्री पनि आजसम्म सिक्किममा आएका छैनन्।