गान्तोक: टिस्टा नदीमा गत ४ अक्टोबरको दिन आएको विनाशकारी बाढ़ले पूर्ण रूपले सड़क सम्पर्क ठप्प बनेको मंगन जिल्लाको लाचुङवासीलाई राहत दिलाउन त्यहाँका पिपन पेमा वाङ्दी लाचुङपा अनि राब्जोर लाचुङपा आज यहाँको पाकिम विमानस्थलबाट हेलिकोप्टरमार्फत राहत सामग्री लिएर लाचुङ प्रस्थान भएका छन्। मौसममा केही सुधार आएपछि पहिलोपल्ट हेलिकोप्टरमार्फत उनीहरू लाचुङ प्रस्थान भएका छन्। हेलिकोप्टरमा आवश्यक खाद्यान्न सामग्रीहरू लगेको उनीहरूले जानकारी गराएका छन्। लाचुङपछि उनीहरू लाचेन पनि पुग्ने योजना बनाएका छन्। यस अवधि उनीहरूले सेनासँग समन्वय बनाएर आवश्यक राहत प्रदान गर्ने भएका छन्। उल्लेख्नीय छ, गत ४ अक्टोबरमा टिस्टा नदीमा आएको विनाशकारी बाढ़मा राज्यको ४ वटा जिल्ला प्रभावित बनेपनि मुख्य रूपले मंगन जिल्लाका विभिन्न क्षेत्र हालसम्म सम्पर्क विच्छेद बनेको छ। नागामा राजमार्ग पूर्ण रूपले क्षतिग्रस्त बनेपछि त्यहाँदेखि उभो चुङथाङ, लाचुङ, लाचेन सड़क सम्पर्कविहीन बनेको छ। केही दिनदेखि मौसम खराब भएको कारणले हेलिकोप्टरमार्फत पनि राहत पुऱ्याउन असम्भव भइरहेको थियो भने आज पहिलोपल्ट उनीहरू लाचुङको निम्ति प्रस्थान भएका छन्।