सिलगढ़ी: यहाँको सिक्सटी प्लस एसोसिएशनद्वारा संस्थाको अध्यक्ष पी एस घिमिरेको अध्यक्षतामा हिजो (८ अक्टोबर) विशेषज्ञ चिकित्सकहरूको सहयोगमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरियो। त्यस दिनको कार्यक्रमको प्रथम चरणमा सिक्किम राज्य अनि टिस्टा बजार क्षेत्र संलग्न गाउँहरूमा आएको प्राकृतिक प्रकोपमा परेर आफ्नो ज्यान तथा प्रियजन गुमाउनेहरूमा साथै भारतीय सेनाका मातृभूमि रक्षक जवानहरू जसले यस प्रकोपमा ज्यान गुमाउनु पर्यो, सबैको आत्मा शान्तिका निमित्त एक मिनेटको मौनधारण गरियो। यसका साथै परिवारप्रति हार्दिक समवेदना प्रकट गरियो। चाँड़ैनै संस्थाको तर्फबाट पीडितहरूलाई जरूरी सहयोग गर्ने निर्णय पनि लिइयो। कार्यक्रमको दोस्रो चरणमा सिक्सटी प्लसको तत्ववाधानमा श्रीकारा हस्पीटल हैदराबादका हड्डी विशेषज्ञ डाक्टर कुमुरभेल्ली, सिलगढ़ीस्थित क्लिनिकका पी एच डी फिजीयोथेरापीस्ट डाक्टर सनोजकुमार शर्मा अनि टोलीद्वारा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरियो। उक्त कार्यक्रम दुर्गागढ़ीस्थित दुर्गा मल्ल भवनमा दिउँसो १२ बजेदेखि अपरान्ह चार बजेसम्म चलेको थियो। संस्थाका सदस्य सदस्याहरू साथै अन्य सर्वसाधारण लिएर एकसय जना लाभान्वित भए। उपस्थित सर्वसाधारणहरूले यस महत कार्यक्रमको निमित्त संस्थालाई धन्यवाद टक्राए। भविष्यमा पनि संस्थाले यस किसिमका कार्यक्रम फेरि पनि आयोजन गर्नेछन् भनी संस्थाका महासचिव मणिकुमार शर्माले यो विज्ञप्ति जारी गरेका हुन्।