गान्तोक: प्राकृतिक प्रकोपको चपेटमा परेको अवस्थालाई केन्द्र गरेर भारतीय जनता पार्टीले अहिले सबै राजनैतिक गतिविधिहरूलाई स्थगित गरेर प्रभावित समुदायहरूको सेवामा लगाएको छ। ल्होनाक पोखरी विस्फोट भएपछि आएको विनाशकारी जलप्रलयपछि भारतीय जनता पार्टी पूर्ण रूपले प्रभावित परिवारहरूलाई राहत उपलब्ध गराउन लागिपरेको जानकारी गराएको छ। यस विनाशकारी बाढ़ीको चपेटमा परेर ज्यान गुमाउने तथा जन-धनको क्षति बेहोरेका सम्पूर्ण जनसाधारणसँग पार्टीले गहिरो सम्वेदना प्रकट गर्दै यस चुनौतीपूर्ण समयमा पार्टी काँधमा काँध मिलाएर उभिएको ठहर गरेको छ। पार्टीले एक प्रेस बयान जारी गरेर केन्द्र सरकारले यस विनाशकारी प्रकोपप्रति तुरून्त प्रतिक्रिया दिँदै उद्धार कार्यलाई सफल बनाउन प्रारम्भिक राहतको रूपमा ४४.८ करोड़ रुपियाँ आवण्टन गरेको जानकारी दिँदै यस भवितव्यले गरेको विनाशको उचित आँकलन गर्न अन्तर-मन्त्रालय स्तरको कमिटि पनि गठन गरेको बताएको छ। जसको रिपोर्टको आधारमा भारत सरकारले सिक्किमको लागि पुनर्वास तथा पुनर्स्थापन कार्यको लागि आर्थिक प्याकेज प्रदान गर्नेछ। अहिले केन्द्र सरकारले गम्भीरतापूर्वक स्थितिको निगरानी गरिरहेको पार्टीको दाबी छ। यसै गरी प्रदेश अध्यक्ष डीआर थापाले लगातार प्रधानमन्त्री अनि गृहमन्त्री कार्यालयसँग सम्पर्कमा रहेर यहाँको जानकारीहरू साझा गरिरहेका छन् भने अर्कोतिर पार्टी कार्यकारिणी तथा कार्यकर्ताहरूले बाढ़ी प्रभावित क्षेत्रहरूको भ्रमण गर्नका साथै स्थलगत रिपोर्टहरू लिइरहेको बताइएको छ। यसबीच, सञ्चार माध्यमहरूमा गान्तोकका विधायक वाईटी लेप्चाद्वारा गरिएको एउटा प्राथमिकीसम्बन्धी रिपोर्ट अनि बयानहरू आइरहेका छन् र प्रदेश भाजपाले यस कदमलाई नितान्त व्यक्तिगत कदम ठहर गर्दै पार्टीलाई उनको कदम अनि बयानबाट टाढ़ा राख्ने दाबी गरेको छ। यसका साथै अहिले सिक्किम राज्य शोकमा डुबिरहेको समय पार्टी कार्यकारिणी तथा कार्यकर्ताहरूबाट पार्टी अनुशासनविरूद्ध कुनै पनि कदम अनि गैर-जिम्मेवार बयानबाट टाढ़ा रहने सुझाउ दिएको छ। अहिले पार्टीको प्राथमिकता केवल प्रभावित परिवारहरूलाई आवश्यक सहयोग, राहत तथा पुनर्वास र पुनर्स्थापन साथै सिक्किम राज्यलाई यस भवितव्यबाट बाहिर निकाल्ने विषयमा समर्पित रहेको बताइएको छ। पार्टी निरन्तर सम्बन्धित प्राधिकरण तथा केन्द्रीय एजेंसीहरूसित प्रभावकारी एवं संरचित राहत कार्यक्रममा लागिपरेका जानकारी गराएको छ। भाजपा सिक्किम यस संकटपूर्ण घड़ीमा प्रभावित परिवारको उद्धार तथा राहत अभियानमा लागिपरेका सम्पूर्ण आपदा प्रबन्धन टोली, स्वयंसेवक, प्रशासन, गैर-सरकारी संगठनहरूलगायत सबै सबैप्रति कृतज्ञता प्रकट गर्दै यस मानवीय पहलको निम्ति सबै सम्बन्धित पक्षहरूलाई राजनीतिदेखि माथि उठेर एकबद्ध हुन आह्वान गरेको छ।