भोपालः मध्य प्रदेश विधानसभा चुनाउको मिति घोषणा भएको छ। राज्यमा आगामी १७ नोभेम्बरमा मतदान हुनेछ। सबै २३० सीटमा एकै चरणमा चुनाउ हुनेछ जसको मतगणना आगामी ३ दिसम्बरमा हुनेछ। चुनाउको मिति घोषणा हुनसाथै प्रदेशमा चुनाउ आचार संहिता लागू भएको छ।
भारत निर्वाचन आयोगले सोमवार मध्य प्रदेश समेत पाँच राज्यको विधानसभा चुनाउको मिति घोषणा गऱ्यो जसानुसार मध्य प्रदेशमा आगामी २१ अक्टोबरको दिन विधानसभा चुनाउको लागि अधिसूचना जारी हुनेछ साथै नामाङ्कनको प्रक्रिया पनि शुरू गरिनेछ। चुनाउमा उम्मेद्वारिता गर्ने उम्मेद्वारहरूले आगामी ३० अक्टोबरसम्ममा नामाङ्कन गर्न सक्नेछन्।
६४ हजार ५२३ मतदान केन्द्रमा हुनेछ मतदान
मध्य प्रदेशमा विधानसभा चुनाउको लागि ६४ हजार ५२३ मतदान केन्द्र निर्धारण गरिएको छ। यसपालि प्रदेशको विधानसभा चुनाउमा ५ करोड़ ६० लाख ६० हजार ९२५ मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्। यसमा पुरूष मतदाताको संख्या २ करोड़ ८८ लाख २५ हजार ६०७, महिला मतदाता २ करोड़ ७२ लाख ३३ हजार ९४५ एवं थर्ड जेन्डर मतदाताहरूको संख्या १३७३ छ। पहिलो पटक मतदान गरिरहेका १८-१९ वर्षका मतदाताहरूको संख्या २२ लाख ३६ हजार ५६४ छ भने ८० वा योभन्दा अधिक उमेरका मतदाताहरूको संख्या ६ लाख ५३ हजार ६४० छ। जबकि १०० वर्षभन्दा अधिक उमेरका ५१२४ मतदाताहरू छन्।
-हिस