इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई १–० ले पराजित गरेको छ। आइतबार आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टिनेलीले निर्णायक गोल गरे। सब्सटीच्युट खेलाडी मार्टीनेलीले खेलको ८६औं मिनेटमा एक गोल गर्दै आर्सनललाई विजयी गराएका हुन्। प्रिमियर लिगकै अर्को खेलमा लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोकेको छ। खेलमा लिभरपुलका मोहोमद सालाहले दुई गोल गर्दा ब्राइटनका सिमोन अडिङ्ग्रा र लेविस डंकले एक एक गोल गरे। आइतबार राति वेष्ट ह्याम युनाइटेडले न्युकासल युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दा वुल्भरह्याम्पटन वान्डरर्स र एस्टन भिल्लाले १–१ गोलको बराबरीमा चित्त बुझाए। आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ८ खेलबाट २० अंक जोडेको टोटनह्याम हट्सपर शिर्ष स्थानमा रहँदा समान २० अंक जोडेको आर्सनल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ। १८ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो तथा १७ अंक जोडेको लिभरपुल चौथो स्थानमा रहेको छ।